प्रदेश 1

दर्जनौँ माछा पोखरी सुक्दैँ, ४० लाख भन्दा बढि क्षति

इनरुवा । सुनसरी वराहक्षेत्र नगरपालिका मधुवन क्षेत्रमा रहेका माछा पोखरी सुक्न थालेका छन् । सप्तकोशी नदीको पानीको बहाव घटेसँगै मधुवन क्षेत्रमा रहेका माछा पोखरी सुक्न थालेका हुन् ।

माछा पोखरी सुक्न थालेपछि कृषक चिन्तित भएका छन् । राम्रो आम्दानी गर्ने उद्देश्यले पोखरी खनेर भुरा हालेको भए पनि पोखरी सुक्न थालेपछि कृषक निराश भएको स्थानीय माछा कृषक सञ्जयकुमार मेहताले बताए । मेहताको पाँच पोखरी रहेकामा सबै सुकेका छन् । यसबाट रु चार लाख बराबरको घाटा भएको उनले बताए ।

त्यसैगरी नरबहादुर थापाको तीन र केशवराज माझीको चारसहित सो क्षेत्रमा दर्जनौँ माछा कृषकको पोखरी सुकेको मेहताले बताए। मेहताका अनुसार माछा पोखरी सुक्दा मधुवन क्षेत्रमा मात्रै रु ३० देखि ४० लाखसम्मको घाटा भएको छ । सप्तकोशी नदीको बहाव पश्चिमतर्फ गएको र पानीको सतह पनि घटेका कारणले माछा पोखरी सुकेको उनले बताए ।