राजनीति

अबको पाँच वर्ष भित्र जनताका सबै आधारभूत आवश्यकता पुर्ति हुन्छन्– अध्यक्ष तिमिल्सिना

पर्वत । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विकास निर्माणका काममा ढिलासुस्ती नगर्न आग्रह गरे । गृह जिल्ला पर्वत आएका अध्यक्ष तिमिल्सिनाले विभिन्न योजनाहरुको अनुगमन गर्दै जिल्लामा सञ्चालित भौतिक पूर्वाधार निर्माणका योजनाहरु समयमै तोकिएको मापदण्ड र गुणस्तरमा सम्पन्न गर्न निर्देशन दिएका छन् ।

अबका दिनहरु मुलुकको आर्थिक समृद्धि र विकास निर्माण गर्ने भएकाले चालू योजनाहरुलाई तोकिएकै समयमा सम्पन्न गर्न र शुरु हुन नसकेका योजनाहरुलाई तत्काल शुरु गर्न सरोकारवालालाई आग्रह गरेका छन् । उनले साना योजनाहरु स्थानीय सरकारबाट, मध्यम खालका प्रदेश सरकारबाट र ठूला योजनाहरु सङ्घीय सरकारले हेर्ने भएकाले तीनै तहको समन्वय र सहकार्यबाट जिल्लाको समग्र विकासलाई गति दिनुपर्ने पनि बताए ।

अहिलेको सरकार विगतमा जस्तो परिवर्तनशील नभएर स्थायी भएकाले पनि अबको पाँच वर्षमा मुलुकको तीव्र रुपमा विकास हुनेमा कुनै आशङ्का व्यक्त नगर्न पनि उनले आग्रह गरे । उनले अबको पाँच वर्षमा पर्वतका सबैजसो बाटाहरु कालोपत्र हुने, घरघरमा खानेपानीका धारा पुग्नेलगायत आधारभूत आवश्यकता पूर्ति भएको जिल्लाका रुपमा विकास हुने बताए ।

अध्यक्ष तिमिल्सिनाले गण्डकी प्रदेशकै नमूना सडक आयोजना कुश्मा–मोदीवेणी सडक, कालीगण्डकी लोकमार्गअन्तर्गत मोदीखोलामा निर्माणाधीन मोटरेबल पुल र कुश्मामा निर्माणाधीन अत्याधुनिक सेवा सुविधासहितको अस्पताल भवनको निरीक्षण गरेका छन् । सडकका बारेमा निर्माण समितिका अध्यक्ष मेघनाथ सुवेदी र अस्पतालका बारेमा अस्पताल विकास समितिका अध्यक्ष गोविन्द पहाडीले जानकारी गराए।

यसअघि अध्यक्ष तिमिल्सिना पर्वतको फलेवासस्थित गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालको घरमा पुगेर चार दिन अघि दिवङ्गत भए मन्त्री लम्सालका दाजु थानेश्वर लम्सालको परिवारलाई समवेदना प्रकटसमेत गरे ।