बाग्मती

(विप्लव) समूहसँग वार्ता गरी समस्या समाधान गर्नुपर्दछ : सहअध्यक्ष श्रेष्ठ

काठमाडौँ । सङ्घीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले हालै सरकारले सिके राउतसँग भएको ११ बुँदे सहमतिमा नेपाल स्वतन्त्र, स्वाधीन, सार्वभौमसत्ता सम्पन्न, अभिभाज्य र अखण्ड भन्ने उल्लेख हुनु स्वागतयोग्य भएको बताएका छन् । पार्टीको शिल्पी विशेष प्रदेश समितिको आयोजनामा ३ नम्बर प्रदेशको विशेष शिल्पी भेलामा सहअध्यक्ष श्रेष्ठले सम्झौताका कतिपय बुँदा अमूर्त रहेकाले सरकारले त्यसको व्याख्या गर्नुपर्ने धारणा राखे ।

राजनीतिक मुद्दालाई राजनीतिक ढङ्गले नै हल गर्नुपर्नेमा जोड दिँदै नेता श्रेष्ठले नेकपा (विप्लव) समूहसँग वार्ता गरी समस्या समाधान गर्नुपर्दछ भने । उनले शिल्पीको सम्मान जनक पहिचानका लागि आफ्नो पार्टीले व्यवहारमै शिल्पी विशेष प्रदेश बनाएर उदाहरणीय बनेको उल्लेख गरे ।

कार्यक्रममा पार्टीका उपमहासचिव दानबहादुर विश्वकर्मा, ३ नं प्रदेशका पार्टी अध्यक्ष लालबहादुर तामाङ, तारा विश्वकर्मालगायतले पनि पार्टीका कार्यदिशाका बारेमा बोलेका थिए । भेलाले शरण रसाइलीको अध्यक्षतामा १६ सदस्यीय शिल्पी विशेष प्रदेश ३ नं प्रदेश समिति गठन गरेको छ ।