लुम्बिनी

मगर संस्कृति देशकै महत्वपूर्ण सम्पत्ति हो, संस्कार देशको पहिचानसँग जोडिएको छ: सभामुख महरा

घोराही । सभामुख कृष्णबहादुर महराले अन्य जातिको तुलनामा मगर समुदायको भाषा, संस्कार र चालचलन लगायतका संस्कृति देशकै महत्वपूर्ण सम्पत्ति भएको बताएका छन् ।

“विभिन्न जातजातिले मनाउने चाडपर्व, वेशभूषा एवम संस्कार देशको पहिचानसँग जोडिएको छ,” उनले भने, “नेपाल बहुधार्मिक, बहुसांस्कृितक देश भएको कुरा संविधानमै उल्लेख भएको हुँदा यो हामी सबैको साझा सम्पत्ति हो ।” मगर भाषा, संस्कुति प्रतिष्ठान केन्द्रीय समिति दाङले आज घोराहीमा आयोजना गरेको मगर संस्कार संस्कति संरक्षण तथा संवद्र्धनका लागि मगरात सांस्कुतिक वेशभूषा प्रतियोगिता कार्यक्रममा सभामुख महराले सो धारणा व्यक्त गरेका हुन् ।

सभामुख महराले जातीय संस्कारलाई झल्काउने खालका कार्यक्रमले राष्ट्रियतासँग जोडिएको सांस्कृतिक सम्पत्तिलाई पहिचानमा ल्याउन भूमिका खेल्ने बताए । साथै उनले यस्ता वेशभूषा संस्कारलाई जोगाउने खालका कार्यक्रम निरन्तर गर्नका लागि आयोजकलाई आग्रह पनि गरे ।

उनले मगर भाषा, संस्कुति प्रतिष्ठान केन्द्रीय समिति दाङलाई गत वर्ष व्यक्तिगत रुपमा रु ५० हजार सहयोग गरेको र यस वर्ष पनि रु ५० हजार सहयोग गर्ने घोषणा गरे । घोराही उपमहानगरपालिकाका प्रमुख नरूलाल चौधरीले वेशभूषा र संस्कृति संरक्षणका लागि उपमहानरपालिकाले छुट्टै नीति बनाइरहेको र सोही अनुसार काम गरिरहेको जानकारी दिए । उनले जातीय पहिचानसँग जोडिएको संस्कृति राष्ट्रको साझा सम्पत्ति भएको बताए ।

आयोजक संस्थाका अध्यक्ष कृतिमान पुन मगरले पछिल्लो पुस्तालाई आफ्नो भाषा र वेशभूषाप्रति लगाव बढाउनका लागि आफूहरुले यस्तो खालको कार्यक्रमको सुरुआत गरेको बताए । प्रतियोगितामा पुरुषतर्फ पूर्णजङ पुन प्रथम र त्रिलोक पुन द्वितीय तथा महिलातर्फ खुशी पुन प्रथम र प्रेरणा रोका द्वितीय भएका थिए ।