समाचार

युवाले मात्र देशको आर्थिक विकास गर्न सम्भव छ: नेता महत

काठमाडौँ । नेपाली काङ्ग्रेसका नेता डा रामशरण महतले मुलुकको आर्थिक विकासका लागि युवा शक्तिको परिचालन गर्नुपर्नेमा जोड दिएका छन् । युवा जागरण अभियानको प्रथम वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित ‘नेपालको सामाजिक तथा आर्थिक विकासका लागि नीति बहस’ कार्यक्रममा उहाँले राष्ट्र निर्माणका लागि युवा शक्तिलाई काममा लगाउनुपर्ने बताए । “स्रोत र साधन भएर मात्र मुलुकको विकास हुँदैन, नीति, आचरण र परिश्रम आवश्यक छ,” उनले भने ।

नेता महतले काङ्ग्रेसले शुरुदेखि नै समाजवाद उन्मुख अर्थ व्यवस्थालाई अगाडि सारेको बताउँदै सीपको विकास गरेर युवालाई रोजगारीमा लगाउनु अहिले मुलुकको आवश्यकता रहेको उल्लेख गरे । पूर्वअर्थमन्त्री डा महतले उदार अर्थव्यवस्थाका कारण मुलुक अहिलेको अवस्थामा आइपुगेको बताए। हरेक क्षेत्रमा निजी क्षेत्रको भूमिका बढ्नु मुलुकको आर्थिक विकासका लागि सकारात्मक रहेको उनको भनाइ छ ।

कार्यक्रममा काङ्ग्रेस केन्द्रीय सदस्य डा शेखर कोइरालाले दुई तिहाइ जनमत पाएको सरकारले आर्थिक विकासको क्षेत्रमा ठोस काम गर्न नसकेको बताए । “अर्थ मन्त्रालयको नियन्त्रणमा नेपाल राष्ट्र बैंकलाई राखेर बैंक तथा वित्तीय संस्थालाई धरासयी बनाउन खोजिँदैछ,” उनले भने । सुशील कोइराला नेतृत्वको सरकारले गरेको लगानी सम्मेलनलाई कार्यान्वयन गर्नतर्फ सरकार लाग्नुपर्नेमा नयाँ लगानी सम्मेलन गर्न सरकार लागेको उनको भनाइ थियो ।

अर्का केन्द्रीय सदस्य बद्री पाण्डेले मुलुकको विकासका लागि राजनीतिलाई आर्थिक क्षेत्रसँग जोड्नुपर्ने बताए । आर्थिक र सामाजिक हिसाबले संविधान उत्कृष्ट दस्तावेज भएको उनको भनाइ थियो । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा स्वर्णिम वाग्लेले युवालाई जागरुक बनाए मात्र मुलुकको विकास सम्भव हुने बताउँदै मुलुकको विकासका लागि उद्योगमैत्री वातावरण निर्माण गर्नु जरुरी पर्दछ भने ।

विसं २०७४ मा युवालाई जागरणको माध्यमबाट राष्ट्र निर्माण गर्ने उद्देश्यका साथ स्थापना भएको अभियानलाई सबै प्रदेश, जिल्ला र स्थानीय तहमा लैजान लागिएको अभियानका संयोजक चिन्तन पौडेलले जानकारी दिए । अभियानले युवालाई जागरुक बनाई राष्ट्र निर्माणका लागि काम गर्ने संयोजक पौडेलले बताए । कार्यक्रममा अभियानद्वारा प्रकाशित पुस्तिका ‘जागृति’को विमोचनसमेत गरिएको थियो ।