लुम्बिनी

श्रीनगरडाँडा वनभोजस्थलको रूपमा विकशित हुदैँ

पाल्पा । पर्यटकीय गन्तव्यको सूचीमा घोषणा गरिएको स्थानीय श्रीनगरडाँडा वनभोजस्थलको रूपमा विकशित भएको छ । आन्तरिक पर्यटकका लागि गतिलो गन्तव्यका रुपमा परिचित श्रीनगरडाँडा यतिबेला वनभोज गर्नेहरूको चहलपहल बढेको हो ।

उक्त डाँडोको हरियाली, स्वच्छ हावा तथा मनोरम प्राकृतिक सुन्दरताले सबैलाई आकर्षित बनाएकाले वनभोज गर्नेहरूको आकर्षण बढेको हो । दैनिक १० देखि १५ समूहले यहाँ वनभोज गर्दै आएका छन् । वनभोजपछि श्रीनगर घुमफिर गर्न आन्तरिक पर्यटक रुचाउँछन् ।
गर्मी बढेसँगै सार्वजनिक बिदाका बेला वनभोजका लागि जिल्लाका ग्रामीण क्षेत्रका बासिन्दाको पनि आगमन बढेको छ । छिमेकी जिल्ला रुपन्देही, स्याङजा, गुल्मी, नवलपरासी, कपिलवस्तु र अर्घाखाची जिल्लाका विद्यालय, सहकारी, टोलविकास समिति, सामुदायिक वन, सरकारी कर्मचारी शनिबार बिदामा श्रीनगरडाँडामा वनभोजका लागि आउने गर्छन् ।

सफा मौसम भएका बेला श्रीनगरबाट माछापुच्र्छे, धौलागिरि, अन्नपूर्णलगायत हिमालय अवलोकन गर्न सकिन्छ । श्रीनगरमा रहेको दृष्य अवलोकन स्तम्भबाट तराईका जिल्ला, समतल भाग, तानसेन बजार, माडीफाँट, बगनासकालीलगायत सुन्दर दृश्य सजिलै देख्न पाइने भएपछि सबैको रोजाइ श्रीनगर बनेको हो ।

पछिल्लो समयमा श्रीनगरमा दृष्य अवलोकन स्तम्भ, हनुमानको मूर्ति र बौद्ध स्तुप, बालबालिका लागि बाल उद्यानले जोहो सबैलाई मोहित बनाउँछ । वनको बीच भागमा रहेकाले हरियालीले चैत वैशाखको गर्मीमा गाउँ ठाउँमा देखिने हरियाली, राताम्मे लालीगुराँस फुलेको र मेहालको सेतो फूल फुलेको देख्दा सबैको मन लोभ्याउन सफल बनेको छ ।
पोखराबाट पाल्पाको भैरवस्थान, रानीमहल भ्रमण पछि श्रीनगर घुमफिर गरेका सन्दीप पोखरेलले आफूलाई श्रीनगरडाँडा सुन्दर लागेको बताए । उनले श्रीनगरडाँडामा अझै भौतिक विकास गर्न सके थप पर्यटकीय गन्तव्यका रुपमा विकास हुने उल्लेख गरे । पाल्पाको शीतल हावापानी, सहयोगी मानिस, ऐतिहासिक सम्पदाले आन्तरिक पर्यटकका लागि मन लोभ्याउने क्षेत्र प्रशस्त छन् ।

श्रेष्ठ निर्माण सेवाका सञ्चालक मनिसरावल श्रेष्ठका अनुसार शनिवारका दिन यहाँ आन्तरिक पर्यटकको बढी ओइरो लाग्ने गर्दछ । दैनिक १५० देखि २०० भन्दा बढी मानिस अवलोकनका लागि यहाँ गर्न आउने गरेको उहाँको भनाइ थियो । श्रीनगरमा दक्षिण एशियाको सबैभन्दा ठूलो डाइनी टेबल, रजत स्तम्भ, हेलिप्याड, दृष्य स्तम्भ, हनुमानको मूर्ति र बौद्ध स्तुप, बाल उद्यम हेर्नलगायत सम्पदा छ ।