सुदूरपश्चिम

मन्टेश्वरी आधारभूत विद्यालय आर्थिक अभावले अलपत्र

बाजुरा । बाजुराको बुढीगङ्गा नगरपालिका–१० मा रहेको मन्टेश्वरी आधारभूत विद्यालय आर्थिक अभावले अलपत्र परेको छ । भौतिक पुर्वाधार तथा जनशतिm अभावले विद्यालय अलपत्र अवस्थामा पुगेको स्थानीयवासी मिना विकले जानकारी दिईन् ।

दलित समुदायको पहलमा वि.सं. २०६६मा स्थापना भएको सो विद्यालयलाई सरकारले अनुमति दिए पनि अन्य कुनै सहयोग नगरेको विद्यालयका प्रधानाध्यापक लोकेश विकको गुनासो थियो । उक्त विद्यालयमा कक्षा एकमा ३६, कक्षा दुईमा २५ र कक्षा तीनमा २९ विद्यार्थी अध्यनरत छन् । भवन अभाबमा कक्षा एक र दुई कक्षाका विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउने पर्ने बाध्यता रहेको शिक्षिका सिता साउदले बताए ।

एकाउन्न दलित परिवारले भारतमा चौकीदारी गरेर विद्यालय चलाउँदै आएका थिए । भारतमा रहेका नेपालीले कालिका सामुदायिक सोसाइटीमार्फत रकम सङ्कलन गरेर विद्यालय स्थापना गरिएको थियो । सो सोसाइटीबाट उपलब्ध भएको रू दुई लाख ५० हजारको लागतमा भवन निर्माण गरिएकामा हाल त्यो भनव जीर्ण बनेको विद्यालयले जनाएको छ । हाल उक्त विद्यालयमा तीन निजी शिक्षक छन् ।

ती शिक्षकलाई उक्त सोसाइटीले उपलब्ध गराएको रकमबाटै तलब दिने गरिएकामा हाल त्यो सोसाईटीमा आर्थिक अभाब भएकाले १८ महिनादेखिको तलव नपाएको शिक्षिका निर्मला विकले जानकारी दिईन् । रू चार हजारका दरले तीन जनाको एक महिनाको रू १२ हजार हुन्छ तर त्यहि पनि १८ महिनादेखि तलब नै खान नपाएको विद्यालय प्रधानाध्यापक लोकेश विकले बताए ।

यस विषयमा पटकपटक स्थानीय तहमा पहल गर्दा पनि कतैबाट वास्ता नभएको विद्यालयले जनाएको छ । आर्थिक अवस्था कमजोर भएकै कारण विद्यालयमा कार्यालय सहयोगीसमेत राखिएको छैन ।
बुढीगङ्गा नगरपालिका–१० का वडाअध्यक्ष धर्मराज जैशीले आर्थिक अभाबमा विद्यालय अलपत्र रहेको स्विकार गर्दै यसबारे नगरपालिकामा पहल गरिए पनि चासो नदिएको बताए । नगरप्रमुख दीपकबिक्रम शाहले भने यसबारेमा आपूmलाई कुनै पनि जानकारी नभएकाले सोही ठाउँमा गएर अनुगमन गर्ने बताए ।