गण्डकी प्रदेश

म्याग्दी नदीमा मोटर चल्ने पुल निर्माण शुरु

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिकाको बाबियाचौर र अर्मन जोड्ने पुल निर्माण गर्न थालिएको छ । सडक डिभिजन कार्यालयले मङ्गला गाउँपालिका–२ बाबियाचौरको माटेबगर र वडा न। ५ अर्मनको मसानघाटमा मोटर चल्ने पक्की पुल बनाउन लागेको हो ।

चालि/चालिस मिटरको ‘डबल स्पाम’ भएको ८० मिटर लामो र ११ मिटर चौडाइको पुल निर्माण गर्न लागिएको उक्त कार्यालयका सूचना अधिकारी इञ्जिनियर मकुन्दप्रसाद लामीछानेले जानकारी दिए । पुल निर्माणका लागि लम्बिनी प्राकृतिक जेभीले रु। ११ करोड २४ लाख २५ हजारमा ठेक्का सम्झौता गरेको छ ।

गत पुस २५ गते भएको सम्झौताअनुसार पुल २०७७ पुस २५ मा सम्पन्न गर्ने लक्ष्य छ । निर्माण कम्पनीले पुल निर्माणका लागि जग खन्ने काम शुरु गरिएको जनाएको छ ।

यो पुल निर्माण भएपछि मङ्गला गाउँपालिकाको अर्मन र बरङ्जाका साथै बागलुङको ताराखोला गाउँपालिकाका बासिन्दालाई सुबिधा पुग्ने जनाइएको छ । अर्मन र बरङ्जामा सडक निर्माण भएपनि मोटर चल्ने पुल नहुँदा स्थानीयवासी यातायात सुबिधाबाट बञ्चित थिए । दश वर्ष अघि नै स्थानीयवासी, जिविस, गाविसको पहलमा निर्माण भएको सडकमा सो पुल निर्माण भएपछि स्थानीयवासीले सुबिधा पाउने मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए ।

पुलको अभावमा हिउँदमा म्याग्दी नदीबाट सवारी साधन वारपार गर्दै आएका छन् तर बर्खामा भने आवतजावत बन्द हुने गरेको छ । सडक डिभिजनले बेनी नगरपालिका–४ फापरखेतदेखि मङ्गला गाउँपालिका–३ बरङ्जा जोड्ने ११७ मिटर लामो अर्को मोटर चल्ने पुल पनि निर्माण शुरु गरेको छ ।