कर्णाली प्रदेश

बालिकालाई आत्मरक्षा सम्बन्धी प्रशिक्षण शुरु

सुर्खेत । बालिकामाथि हुने हिंसाबाट बच्न यहाँका विद्यालयमा आत्मरक्षा (सेल्फ डिफ्यान्स) सम्बन्धी प्रशिक्षण शुरु गरिएको छ । बालिकालाई विद्यालयमै पुगेर सैद्धान्तिक र प्रयोगात्मक अभ्यास सहित हिंसाबाट जोगिने उपायका बारेमा प्रशिक्षण प्रदान गर्न थालिएको हो ।

यस्तो प्रशिक्षण लिएका बालिकाले आफ्ना साथीलाई हिंसाबाट कसरी बच्ने भन्ने विषयमा समेत प्रशिक्षण दिने गरेका छन् । नेपाल राष्ट्रिय माध्यमिक विद्यालय करैखोलाका छात्रा निश्चल कोइरालाले एक्लो अवस्था वा बाटोमा हिँड्दा आफूहरु माथि हुने हिंसा रोक्न तालीमले सहयोग पुग्ने बताए ।

उनले भने, “महिला हिंसाबारे चेतना जगाउने र कोही आइलागेको खण्डमा प्रतिकार गर्न सक्नेको क्षमताको विकास गर्ने उद्देश्यले सञ्चालित प्रशिक्षणबाट हिंसामा संलग्नबाट आफू कसरी उम्किन सकिन्छ ? र आफ्नो अङ्गको सुरक्षाका लागि के गर्न सकिन्छ ? भन्नेबारे ज्ञान दिने गरिएको छ ।”

ग्लोबल एक्सनका सामाजिक परिचालक मीना विश्वकर्माले आत्मरक्षामा बालिकामाथि बाहिरबाट हुने आक्रमणका विषयमा प्रशिक्षित गराइएको बताए । शारीरिक प्रतिरक्षाका साथै महिला हिंसाका कारण, कानूनी उपचार र अन्यायमा परेमा न्यायका लागि लड्ने विषयमा समेत परामर्श दिइएको उनले जानकारी दिए । सुर्खेतका १२ विद्यालयका ३६० बालिकाले आत्मरक्षासम्बन्धी तालीम प्राप्त गरिसकेका छन् ।