बाग्मती

सामाजिक रुपान्तरणमा नेतृत्वदायी भूमिका निभाउन आफैँमा तप्पर: पूर्वप्रहरी

परासी । सामाजिक रुपान्तरणमा नेतृत्वदायी भूमिका निभाउन आफूहरु तप्पर रहेको पूर्वप्रहरी कर्मचारीले बताएका छन् । लामो समय राष्ट्र सेवामा खर्चेर बटुलेको अनुभवलाई सेवा निवृत्त पछि पनि समाज रुपान्तरणमा लगाउने उनीहरुले प्रतिबद्धता जनाएका छन् ।

नेपाल पूवंप्रहरी सङ्गठन पश्चिम नवलपरासीको परासीमा आज सम्पन्न जिल्ला अधिवेशनमा बोल्दै सङ्गठनका संरक्षक एवं पूर्वप्रहरी महानिरीक्षक धुव्रबहादुर प्रधानले आफूहरु राज्य र जनताका लागि अझै पनि सेवामा खटिन तयार रहेको तर राज्यबाट ठोस जिम्मेवारी भने नआएको उल्लेख गरे ।

उनले भने, “देशका हजारौँ पूर्वप्रहरी कर्मचारी राष्ट्र निर्माणका लागि सहयोग गर्न तयार छन्, हामीले लामो समयदेखि प्राप्त गरेको अनुभवलाई सामाजिक जागरण अभियानमा लगाउन चाहन्छौँ, लगाइ पनि रहेका छौँ ।” प्रधानले वर्तमान नेपाल प्रहरीको नेतृत्वले प्रहरीभित्रको आन्तरिक सुधार र नेपाल प्रहरीको शिर ठाडो हुने खालका प्रयास गरिरहेको भन्दै प्रशंसा गरे ।

पूर्वप्रहरी सङ्गठनका जिल्ला अध्यक्ष शम्भु उपाध्यायले राज्यले चाहेका बेला आफूहरु जस्तोसुकै सहयोग गर्न तयार रहेको उल्लेख गरे । उनले पूर्वप्रहरी कर्मचारीलाई सहुलियत दरमा ऋण लगायत अन्य सेवा सुविधामा पनि राज्यले ठोस नीति ल्याउनु पर्नेमा जोड दिए ।
सङ्गठनका प्रदेश नं ५ का संयोजक घनेन्द्रविक्रम पाण्डेले समाज रुपान्तरणमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आफूलाई अब्बल नागरिकको रुपमा चिनाउन आग्रह गरे । उनले अब यस सङ्गठनको पनि सङ्घीय संरचना अनुसार स्थानीय तहसम्मै समिति गठन गर्ने, सङ्गठनलाई सामाजिक क्षेत्रमा क्रियाशील बनाउँदै जाने योजना रहेको जानकारी दिए । सो अवसरमा प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने, रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र गुप्तालगायतले पनि शुभकामना व्यक्त गरेका थिए ।