बाग्मती

सडक जीवन बिताउँदै आइरहेकी वृद्धको उद्धार

काठमाडौँ । मानवसेवा आश्रम काठमाडौँले सिनामङ्गलस्थित सडक पेटीबाट एक असहाय वृद्धको उद्धार गरेको छ । खुकुलाल महर्जन नाम बताउने अन्दाजी ८० वर्षीय वृद्धलाई गए राति १२ बजे उद्धार गरिएको र अहिले उनलाई सामाखुशीस्थित आश्रममा राखिएको छ ।

कसैले केही दिए खाने नत्र भोकै बस्नुपर्ने बाध्यताका बीच सडक जीवन बिताउँदै आएकी महर्जनले दाइले घर बेचेर गाउँ गएपछि आफू सडकमा बस्दै आएको बताइन ।

मनमैँजु निवासी मुना राइले कार्यालय आउजाउ गर्दा वृद्ध व्यक्ति सडकपेटीमा सुतिरहेको देखेपछि आश्रमलाई खबर गरेका थिए । त्यसपछि आश्रमको टोली उद्धारमा गएको हो ।

कुकुरसँगै सुतिरहेको अवस्थामा उनलाई गए राति फेला पारिएको आश्रमका काठमाडौँ संयोजक सुमन बर्तौलाले जानकारी दिए । स्थानीयका अनुसार विगत १० वर्षदेखि उनले त्यही ठाउँमा बस्दै आएकी थिइन् ।

परिवार पत्ता लगाएर उनलाई पुनःस्थापन गर्न प्रयास गरिने आश्रमकी अभियन्ता सन्तोषी मगरले बताए। आश्रमले विसं २०६९ देखिनै सडकबाट उद्धार गरेर संरक्षण गर्दै अनि परिवार पत्ता लगाएर पुनर्मिलन गराउँदै आएको छ । हालसम्म ५०० भन्दा बढीलाई यसरी उद्धार गरेर परिवारमा मिलन गराइसकेको जनाइएको छ ।

आश्रमले देशका विभिन्न १४ स्थानमा शाखा कार्यालय खोलेर सडकमा पुगेका असहाय तथा मनोरोगीको उद्धार गर्दै आएको र विसं २०८२ सम्म सडकमा कष्टकर अवस्थामा असहाय नरहने अवस्था निर्माणका लागि भन्दै अभियान सञ्चालन गरेको छ ।