कृषि

आलु उत्पादनमा ४० प्रतिशतले वृद्धि

अमरगढी । डडेल्धुरामा यो वर्ष आलु उत्पादनमा ४० प्रतिशतले वृद्धि भएको छ । आलुका लागि यो वर्ष उपयुक्त मौसम हुनुका साथै आलु खेती गर्ने जमीनको क्षेत्रफलमा वृद्धि भएकाले आलुको उत्पादनमा ३० प्रतिशतले वृद्धि भएको कृषि ज्ञान केन्द्र कार्यालय डडेल्धुराले जनाएको छ ।

चालू आर्थिक वर्षमा डडेल्धुरामा २५ हजार मेट्रीक टन आलु उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय डडेल्धुराले जनाएको छ । जिल्ला कृषि विकास कार्यालय डडेल्धुराले गत वर्ष ५० मेट्रीक टन आलुको बिउँ वितरण गरेको थियो भने यो वर्ष करीब १०० मेट्रीक टन आलुको बिउँ अनुदानमा वितरण गरेको थियो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्र्तगत डडेल्धुरालाई आलु उत्पादनको ‘सुपर जोन’ क्षेत्र घोषणा गरे भएपछि किसान झनै उत्साहित भएका छन् । आलु खेतीबाट राम्रो आम्दानी हुन थालेपछि केही वर्ष यतादेखि आलु खेतीतर्फ किसानको आकर्षण बढ्दै गइरहेकोे छ ।

आलु खेतीतर्फ किसानको आकर्षण बढाउन जिल्ला कृषि विकास कार्यालयले विभिन्न कार्यक्रमअन्र्तगत अनुदानमा आलुको बिउँ वितरणका साथै प्राविधिक सहयोगसमेत दिँदै आइरहेको हो । यहाँको अमरगढी नगरपालीका, आलिताल गाउँपालिका, भागेश्वर गाउँपालिका, गन्यापधुरा गाउँपालिकालाई आलु खेतीका लागि पकेट क्षेत्र घोषणासमेत गरेको छ ।

डडेल्धुरामा हिउँदे आलु ५५५ हेक्टर क्षेत्रफलमा र वर्षे आलु २८५ हेक्टर क्षेत्रफलमा खेती गरिने गरिएको र गत आर्थिक वर्ष डडेल्धुराबाट तीन हजार मेट्रीक टन आलु निर्यात भएको अमरगढी कृषि शाखा कार्यालय डडेल्धुराका कृषि अधिकृत टेकबहादुर विष्टले बताए ।