बाग्मती

महिलाको पाठेघर परीक्षण र उपचार बारेमा परामर्श

रसुवा । महिलाको पाठेघरमा हुने सक्ने समस्या समाधान गर्न रसुवा अस्पतालले हिमाली जिल्ला रसुवामा पहिलो पटक आफ्नो आन्तरिक जनशक्ति उत्पादन गरेको छ । रसुवा अस्पताल विकास समितिका अध्यक्ष रामशरण कुँइकेलका अनुसार यहाँ कार्यरत दुई जना अनमीलाई तालीम दिएर दक्ष बनाइ ३० देखि ६० वर्षभित्रका महिलाको पाठेघरसम्बन्धी परीक्षण र आइपरेका समस्या समाधानका लागि उपचार प्रकृयाका बारेमा परामर्श दिन थालेको हो ।

महिलाको पाठेघर उपचार सेवाअन्तर्गत ३६२ जनाको परीक्षण गर्दा ११ जनामा समस्या भेटिएकोले हुन सक्ने क्यान्सरबाट सुरक्षित सावधानीका लागि उपचारार्थ काठमाडौँ जान यहाँका चिकित्शकले सुझाव दिएका छन् । जिल्लामा शुरू परीक्षण सेवालाई क्रमिक रूपमा शिविरको माध्यमबाट जिल्ला भर विस्तार गर्ने र थप उपचारार्थ काठमाडौँ रिफर हुने महिलाको हकमा बाटो खर्चसमेत दिइने बताएको छ ।

यस्तै महिलामा हुने पाठेघर समस्या समाधानको साथै बालबालिकामा हुने विविध रोग निधानका लागि रसुवा अस्पतालका प्रमुख डा नितु झाले बताइन् । जटिल खाले बिरामीको उपचार साधन तथा स्रोतको अभावले काबुभन्दा बाहिर भए बाहिर पठाउने हो । स्थानीयस्तरको अस्पतालबाट अधिकतम सुविधा लिन सबै जिल्लावासी सामु आग्रह गरिएको छ । अस्पताल विकास समितिका अध्यक्ष रामशरण कुँइकेलले अस्पतालका कार्यरत चिकित्सकले अह्रोरात्र सेवा दिई रहेका र आफूले पनि अस्पताललाई थप व्यवस्थित बनाउने प्रयास गरिरहेको बताइन् ।

उपचारका लागि दैनिक सरदर अस्पतालको अन्तरङ्ग कक्षमा ७ देखि १० जना र वैरङ्ग कक्षमा ४० देखि ५० जना बिरामी आउने गरेका छन् । विसं २०४४ देखि १५ शै्याको बेडबाट स्थापना भएको रसुवा अस्पतालको संरचना विसं २०७२ को भूकम्पको क्षति भएको थियो । नेपाल रेडक्रसको सहयोगमा अस्पतालको पुनःनिर्माण भएपछि नियमित उपचार सेवा दिन सरल भएको डा प्रवल केसीले जानकारी दिए।