साहित्य

साहित्यमा दलित विषय उठाउन जोड

काठमाडौँ । राज्य र गैरराज्य पक्षबाट साहित्यको क्षेत्रमा दलित समुदायको प्रभावकारिता उठाउन आवश्यक नीति, विधि र संरचना निर्माण गर्न एकल र सामूहिक पहल हुनुपर्नेमा जोड दिइएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानद्वारा यहाँ आज आयोजित ‘दलित साहित्य लेखनको वर्तमान अवस्था र भावी दिशा’ विषयको विचार गोष्ठीमा दलित समुदायका साहित्यकारले साहित्यको संरक्षण र संवर्धनका लागि राज्यद्वारा निर्मित संरचनामा समावेशी प्रतिनिधित्वको मुद्दालाई अक्षरश कार्यान्वयन गर्नुपर्ने माग गरेका छन् ।

प्रतिष्ठानका कुलपति गङ्गाप्रासद उप्रेतीले नेपाली साहित्य क्षेत्रमा दलित विषयलाई सक्रियताका साथ उठान गर्न दलित समुदायका साहित्यकारहरु नै सबैभन्दा बढी सक्रिय हुनुपर्ने बताए ।

कार्यपत्र प्रस्तोता डा बुद्धि नेपालीले साहित्यमा दलित विषयको प्रवेशको उठान सामान्य दयाको पात्र वा समुदायका रुपमा नभई उनीहरुको सीप र सौन्दर्यलाई उच्च सम्मान गर्दै समाजको सशक्त उत्पादक शक्ति र नायक समुदायका रुपमा चित्रण गरिनुपर्छ भने ।

नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानका अध्यक्ष रणेन्द्र बरालीले राज्यको हरेक संरचनाबाट बञ्चित गरिएको दलित समुदायको श्रम र सीपको दोहन र सांस्कृतिक बहिष्कार गरिएको भन्दै गुनासो गरे । दलित साहित्यहरु सङ्गठित भई कला, साहित्य र संस्कृतिका माध्यमबाट समाजमा व्याप्त रहेको जातीय छुवाछूत तथा विभेद उन्मुलनमा योगदान पु¥याउने उद्देश्यले २०४९ सालमा नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानको स्थापना गरिएको हो ।