लुम्बिनी

मानसिकता त्यागेर काम गर्न कर्मचारीलाई निर्देशन: मुख्यमन्त्री पोखरेल

रुपन्देही । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले काठमाडौँ केन्द्रित मानसिकता त्यागेर काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बुटवलमा आज आयोजित कार्यक्रममा समायोजन भएर प्रदेशमा आएका कर्मचारीलाई निर्देशन दिँदै उनले एउटै संरचनाको शासकीयस्वरुप भित्र कुनै विभेद नहुने बताए ।

“केन्द्रमा हुदाँ फाइदा हुन्छ, प्रदेशमा हुँदा केही हुँदैन भन्ने भ्रम हटाउनुस्”, उनले भने, “अब प्रदेश केन्द्रित भएर जिम्मेवारी निर्वाह गर्नुस्, स्थान ठूलो कुरा होइन, आफूले बनाउने वातावरण मुख्य कुरा हो ।” अहिलेकै अवस्थामा थोरै भए पनि प्रदेशमा अधिकार बढी हुने उनको भनाइ छ ।

कार्यक्रममा प्रदेशका प्रमुख सचिव तीर्थ ढकालले परिणाम दिने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिए । बजेट कार्यान्वयनमा कर्मचारीको भूमिका महत्वपूर्ण हुने भएकाले नतिजामुखी काममा लाग्न उनले सुझाव दिए ।