आर्थिक

एनआई सी एशिया बैंकको नयाँ शाखा सिरहाको भगवानपुरमा

काठमाडौँ । एनआई सी एशिया बैंकको भगवानपुर गाउँपालिका वडा नं १,सिरहा स्थित भगवानपुर शाखाको भगवानपुर गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद यादवबाट शुक्रबार भव्य समारोहका बिच समुद्घाटन सु–सम्पन्न भयो । उक्त शाखाको उद्घाटन समारोहमा नगरपालिका अध्यक्ष यादवले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउदै गएको यस बैंकको प्रशंसा गरे ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाधस्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८१ शाखा कार्यालय, २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । करिब १४ लाख ५० हजार ग्राहकका साथ सञ्चालनमा रहेको यस बैंकमा प्रमुख वित्तीय परिसुचक अत्यन्त उत्साहप्रद रहेका छन् ।

साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चाँडै नै थपशाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ ।