बाग्मती

डेढ महिना देखि थन्केर बसेको नेपाल वायुसेवा निगमको वाइ–१२ विमानले पुनः उडान शुरु

काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको वाइ–१२ विमानले पुनः उडान शुरु गरेको छ । विमानचालक (पाइलट) अभावले डेढमहीनादेखि थन्केर बसेकोे उक्त विमानले आज काठमाडौँ–दाङ दोहोरो उडान भरेको हो ।

बिरामी बिदामा बस्नुभएका पाइलट निपेन्द्र भट्टराई पुनःकाममा फर्किएपछि उक्त विमानले उडान भर्न शुरु गरेको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी दिए ।

निगमले वाइ–१२ विमानकै अर्का पाइलट उद्धव घिमिरेलाई ए–३२० को प्रशिक्षणमा पठाएको विरोधमा दुई पाइलट गत माघ २९ गते (जनवरी ३१) बाट बिरामी बिदामा बसेका कारण निगमका तीन विमान ग्राउण्डेड भएको बताइन्छ ।

आन्तरिक विवादका कारण लामो समय देखि बिरामी बिदामा बसेका दुई पाइलट भट्टराई र सञ्जय बादे फागुन १३ र १६ गते नै काममा फर्किएका थिए । उनीहरू २० दिनभन्दा बढी बिदामा बसेका कारण विमान उडाउनुभन्दा पहिले स्वास्थ्य परीक्षण गर्नुपर्ने भएकाले उडान भर्न पाएका थिएनन् ।

यसअघि ‘पाइलट प्रोफिसियन्सी चेक(पीपीसी)’ को म्याद सकिएकाले नविकरणका लागि पाइलट आङनुरी शेर्पाको पीपीसी चीन जाने भएका छन् ।

प्रशिक्षक पाइलटसमेत रहनुभएका शेर्पाको पीपीसी नवीकरण नहुँदा नयाँ थप गरिएका दुई पाइलट पनि कामविहीन भएका छन् । निगमका सहायक प्रवक्ता कोइरालाका अनुसार शेर्पा एक सातापछि पीपीसी नवीकरणका लागि चीन जाँदै छन् । उनी फर्किएपछि नयाँलाई तालीम दिने योजना बनाइएको थियो । डेढमहीनाको अवधिमा पाँच क्याप्टेन तयार भई वाई–१२ सबै विमान सञ्चालनमा ल्याइने योजना छ । निगम सँग वाइ–१२ चिनियाँ कम्पनीका चार विमान रहेकामा एक प्राविधिक परीक्षणमा छ भने बाँकी तीन विमानमा पाइलटको वैकल्पिक व्यवस्था गरेर भए पनि उडान भर्ने बताइएको छ ।