गण्डकी प्रदेश

गर्भजाँचमा अण्डा वितरण

बागलुङ ।  बागलुङ नगरपालिका–५ मालिकाले स्वास्थ्य संस्थामा नियमित परीक्षण गर्न आएका महिलालाई अण्डा वितरण गर्न थालेको छ । दुई महीनाअघि देखि शुरु भएको यो अभियानमा अहिलेसम्म २७ जनाले सेवा लिइसकेको वडाध्यक्ष शिवप्रसाद सापकोटाले बताए ।

सरकारी नियमानुसार एउटा गर्भवती महिलाले गर्भअवधि भर कम्तीमा चार पटक स्वास्थ्य परीक्षण गर्नुपर्छ । उनीहरुको शरीरमा पोषणको मात्रा पुर्याउन सजिलो होस् भनेर वडा कार्यालयले विनियोजन गरेको स्वास्थ्यको बजेटबाट यो सेवा दिएको हो । चालू वर्षका लागि वडाले रु ५० हजार यो शीर्षकमा छुट्याएको हो ।

सुआहारा कार्यक्रमले महिलाको स्वास्थ्य सुधारका लागि नियमित पोषण खुवाउने परामर्श गर्दै आएको थियो । चालू वर्षका लागि भने बजेट छुट्याएर अण्डा वितरण गर्न थालिएको हो ।

स्थानीय स्वास्थ्य चौकी र नेपाल गाजा डेभलपमेन्ट फाउण्डेशनले यो अभियानमा सघाएका छन् । अहिलेसम्म यो वडाले २७ महिलालाई नियमित अण्डा दिइएको स्वास्थ्यचौकी प्रमुख महेन्द्र शर्माले बताए । यो सेवा पाउन थालेपछि सदरमुकामस्थित बागलुङ बजारमा डेरा लिएर बसेका, माइतमा बसेकाहरु पनि अण्डा पाउने आशले नियमित स्वास्थ्य परीक्षणका लागि आएको शर्माले बताए । यो सेवाले गर्भवतीमा नियमित स्वास्थ्य परीक्षण गर्ने बानीको विकास गरेको स्थानीय भगवती रेग्मीले बताए ।

“सेवा सुविधा पाउने आसले नियमित परीक्षणमा आएकी हुँ,” उनले भने, “स्वास्थ्यकर्मीले हरेक दिन सागपात, गेडागुडी र दूध तथा माछामासु खान पनि सल्लाह दिएका छन् ।” महिलाको पेटमा गर्भ बसेदेखि शिशु जन्मेको दुई वर्षसम्म उचित पोषणको मात्र पु¥याउन सकियो भने शिशुको बौद्धिक र शारीरिक क्षमता राम्रो बन्ने शर्माले बताए ।