समाचार

डिल्लीबजार कारागार भवन जीर्ण, कैदीबन्दीलाई समस्या

काठमाडौँ । डिल्लीबजार कारागार भवन जीर्ण हुँदा कैदीबन्दीलाई समस्या भएको छ । विसं १९६० को दशकमा निर्माण भएको डिल्लीबजार कारागार कारागारमा विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले क्षति पुगेको छ । चार रोपनी क्षेत्रफलमा निर्माण भएको कारागारमा दुईवटा भवनमा कैदीबन्दी राखिँदै आएको छ ।

डिल्लीबजार कारागारमा महिला कैदीबन्दी भने छैनन् । काठमाडौँ जिल्लामा केन्द्रीय कारागार जगन्नाथ देवल र डिल्लीबजार कारागार भएकाले महिला कैदीबन्दीलाई भने केन्द्रीय कारागारमै राख्ने व्यवस्था गरिएको छ । डिल्लीबजार कारागारका उपसचिव एवं जेलर अरुण पोखरेल भूकम्पले क्षति पुगेको भवनलाई ‘रेट्रोफिटिङ’ गरेर सञ्चालनमा ल्याएको बताए । “थोरै जग्गामा धेरै कैदीबन्दी हुँदा समस्या परेको छ,” उनले भने “उक्त जग्गामा कार्यालयदेखि प्रहरीसमेत राख्नुपर्ने बाध्यता छ ।”

डिल्लीबजार कारागारमा हाल रहेका ६१२ कैदीबन्दीमध्ये ५९३ स्वदेशी र १९ जना विदेशी रहेका छन् । धेरै कैदीबन्दीलाई एकै ठाउँमा राख्दा अधिकांश कैदीबन्दी बिरामी समेत हुने गरेको जेलर पोखरेलले बताए । बिरामी कैदीबन्दीका लागि छुट्टै कोठा स्थापना गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । डिल्लीबजार कारागारमा बिरामी भएका कैदीबन्दीको उपचार भने केन्द्रीय कारागार अस्पताल जगन्नाथ देवलमा हुँदै आएको कारागारले जनाएको छ ।

कैदीबन्दीमा छाला, मधुमेह, कमलपित्त, श्वासप्रश्वास, फोक्सोको समस्या, हातगोडा पाक्ने, सुनिनेलगायतका समस्या हुने समेत गरेको छ । केन्द्रीय कारागार अस्पतालमा उपचार हुन नसकेका कैदीबन्दीलाई वीर अस्पताल, शहीद गङ्गालाल अस्पताल, मानसिक अस्पताललगायतमा उपचारका लागि पठाइँदै आएको कारागारले जनाएको छ ।

कारागार परिसर बाहिरको जग्गा हुलाक कार्यालयको रहेकाले कारागार कार्यालयलाई साँघुरो भएको उपसचिव पोखरेलको भनाइ छ । कूल ३५० कैदीबन्दी राख्न मिल्ने क्षमता कारागारको रहे पनि क्षमताभन्दा झण्डै दुईगुणा बढी कैदीबन्दी रहेका छन् । डिल्लीबजार कारागारमा कैदीबन्दीको कामका लागि गलैँचा र फर्निचर उद्योग सञ्चालन गरिएको छ । डिल्लीबजार कारागारमा कैदीबन्दीलाई आफन्तसँग भेटघाटका लागि अन्य कारागारको तुलनामा सहज बनाइएको नेपाल प्रहरी डिल्लीबजार कारागारका प्रमुख एवं प्रहरी निरीक्षक पुरुषोत्तम थपलियाले बताए। “शनिबार बाहेक अरु दिनमा आफ्ना घरपरिवार र आफन्तलाई कैदीबन्दी भेट्न सहज रुपमा दिँदै आएका छौँ,”–उनले भने ।

डिल्लीबजार कारागारको सुरक्षाका लागि १२५ प्रहरीको दरबन्दी भएपनि हाल ८० प्रहरीले सुरक्षा प्रदान गर्दै आइरहेका छन् । कारागार व्यवस्था विभागका सूचना अधिकारी कृष्णबहादुर कटुवालका अनुसार हाल मुलुकभर ७२ जिल्लामा ७४ कारागार रहेका छन् । काठमाडौँ र दाङमा दुई÷दुई वटा कारागार रहेका छन् । काठमाडौँमा केन्द्रीय कारागार जगन्नाथदेवल र डिल्लीबजार कारागार तथा दाङमा घोराही र तुलसीपुर दुई स्थानमा कारागार रहेको छ । धनुषा, बारा र भक्तपुरमा अहिलेसम्म पनि कारागार छैन । नयाँ स्थापना भएका दुई जिल्ला नवलपरासी पश्चिम र रुकुम पश्चिममा पनि कारागार छैन । विभागका अनुसार हाल देशभर २१ हजारको हाराहारीमा कैदीबन्दी रहेका छन् ।