बाग्मती

राष्ट्रिय निकुञ्जमा विशेष सुरक्षा अभियान सञ्चालन

चितवन । चितवन राष्ट्रिय निकुञ्जले सम्पूर्ण क्षेत्रमा पुग्ने गरी (स्वीप अप्रेशन) विशेष अभियान सञ्चालन गरेको छ । वर्षात् सकिएपछि निकुञ्जभित्र झाडी पातलो हुँदै जाँदा तस्करको पहुँँच वन्यजन्तुसम्म पुग्न सक्ने भन्दै निकुञ्ज कर्मचारी र नेपाली सेनाले विशेष अभियान शुरु गरेका हुन् ।

विगतका वर्षमा अधिकांश चोरीशिकारीका घटना यसै मौसममा हुने गरेको तथ्याङ्कले देखाएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार पोष्ट नभएका क्षेत्रमा रातमा पोष्ट खडा गरी बस्ने काम पनि अभियानअन्तर्गत गरिएको छ । निकुञ्जलाई चार क्षेत्रमा विभाजन गरी सोही क्षेत्रका गुल्मपति र निकुञ्जका सहायक संरक्षण अधिकृतको नेतृत्वमा हात्ती, डुङ्गा, गाडी, साइकल र पैदल गस्ती गरिएको उनले बताए।

निकुञ्जको चुरेदेखि महाभारत हुँदै घाँसे मैदानसम्मका सबै क्षेत्रमा पुग्ने गरी अभियान सञ्चालन गरिएको छ । कम्तिमा एक महीना अभियान जारी रहने ढकालले बताए । वर्षात्को समयमा वन्यजन्तु मरेर कुहिएको भए पनि थाहा लाग्ने र बाह्य व्यक्तिको प्रवेश भए जानकारी हुने भएकाले अभियान प्रभावकारी भएको छ ।

भारतीय सीमाक्षेत्रमा रहेकाले उच्च सुरक्षा जरुरत रहेको हो । निकुञ्जले दश टोली बनाएर लामो दूरीको पैदल गस्तीसमेत गरिरहेको छ । निकुञ्जभित्रै महाहन्ट अभियान पनि जारी रहेको छ । यस विशेष अभियानका क्रममा महाहन्टमा खटिएका कर्मचारी र सेनाले समन्वय गरेर गस्ती गरिरहेको ढकालले बताए ।