सुदूरपश्चिम

औषधि अभावका कारण सेवाग्राहीलाई समस्या

घोडाघोडी । कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा रहेको पशुसेवा केन्द्रमा औषधि तथा उपकरण अभावका कारण सामान्य सेवा लिन सेवाग्राहीलाई समस्या हुँदै आएको छ ।

सरकारले पशुसेवा कार्यालय मार्फत कृषकका लागि विभिन्न सेवा सुविधा उपलब्ध गराए पनि सुखडस्थित सेवा केन्द्रबाट आफूहरुले सेवा सुविधा नपाएकोे घोडाघोडी नगरपालिका–१ लक्ष्मीपुरबाट आएका आमखुरा विश्वकर्माले बताए। आफूले एउटा बोका बन्ध्याकरण गराउनका लागि करीब तीन किलोमिटर बाटो दैनिक हिँडेर तीन दिनसम्म पशुसेवा कार्यालय धाउँदासमेत सेवा नपाएको गुनासो गर्दै उनले कहिले प्राविधिकको अभाव त कहिले कार्यालयमा औषधि तथा उपकरण नभएको भन्दै पशुसेवा कार्यालयले आफूलाई फर्काएको बताए ।

आफूले पालेको भैँसीलाई कृत्रिम गर्भधान गराउन उक्त कार्यालय धाउँदा सेवा नपाएको घोडाघोडी नगरपालिका–२ साडेपानीका कृषक जयबहादुर विष्टले बताए । यहाँ औषधि र उपकरण केही छैन तपाईं नगरपालिकाअन्तर्गत रहेको पशुसेवा कार्यालयमा जानुस् भनेर पठाउने गरेको र नगरपालिकामा रहेको पशु शाखामा पुग्दा पशुसेवा केन्द्रमा जानुस् भनेर दुःख मात्र दिने गरेको गुनासो विष्टको थियो ।

पशुसेवा केन्द्रमा कर्मचारी अभावले गर्दा किसानले निकै समस्यामा भोग्नुुपरेको घोडाघोडी नगरपालिका पशु स्वास्थ्य प्रमुख छत्रा न्युरेले बताए । पहिले आफूहरुले महीनामा ३५ देखि ४० सम्म पशुको कृत्रिम गर्भधान गर्ने गरेकामा अहिले मुस्किलले १० देखि १५ वटा पशुको कृत्रिम गर्भधान गर्ने गरेको उनको भनाइ थियो ।

नौ कर्मचारीको दरबन्दी रहेको उक्त कार्यालय र नगरपालिका अन्तर्गतको पशु स्वास्थ्य शाखा दुवै कार्यालय हेर्ने एक मात्र कर्मचारी रहेकाले किसानलाई सेवा प्रदान गर्न समस्या हुने गरेको छ ।