प्रदेश 1

भाषा इन्स्टिच्युट मापदण्ड विपरीत सञ्चालन

पाँचथर । जिल्लाको सदरमुकाम फिदिममा सञ्चालित अधिकांश भाषा इन्स्टिच्युट स्थानीय तहको अनुमतिबिनै सञ्चालनमा छन् । स्थानीय तहमा दर्ता अनुमति लिनेबारेमा न कुनै इन्स्टिच्युट सञ्चालकलाई थाहा छ न त स्थानीय तहले यसबारेमा जानकारी नै गराएको छ ।

शैक्षिक परामर्श, पूर्वतयारी कक्षा तथा भाषा शिक्षणसम्बन्धी विभिन्न गतिविधि सञ्चालन गर्ने यहाँका अधिकांश इन्स्टिच्युट स्थानीय तहको अनुमति बिनानै सञ्चालनमा आएको पाइएको छ । भाषा इन्स्टिच्युट करकै दायरामासमेत छैनन् । विद्यार्थी, अभिभावक र राज्यको आँखा छलेर च्याउजस्तै उमे्रका ती भाषा कक्षामा दक्ष र अनुमति पाएका प्रशिक्षकसमेत छैनन् ।

पाँचथरको सदरमुकाम फिदिममा सञ्चालनमा आएका एक दर्जन बढी कोरियाली र जापानी भाषाका इन्स्टिच्युटमा त्यस्तो पाइएको हो । फिदिम नगरपालिकाको नेतृत्वमा बुधबार संयुक्त अनुगमन गर्दा फिदिम–१ स्थित मेनलाइनमा भएको सेवारो एजुकेशन एण्ड इन्स्टिच्युट नियमअनुसार सञ्चालन अनुमति बिनै सञ्चालनमा रहेको पाइयो । अनुगमनका क्रममा गएको टोलीलाई इन्स्टिच्युटले सामान्य कागजातसमेत पेश गर्न सकेन ।