समाचार

विवेकशील साझा अन्तर्राष्ट्रिय सद्भाव समूहले चुन्यो मिडिया संयोजक

काठमाण्डौ । विवेकशील साझा अन्तर्राष्ट्रिय सद्भाव समूहले युवा लेखक तथा स्तम्भकार सरगम भट्टराईको संयोजकत्वमा ९ सदस्यीय ‘अन्तर्राष्ट्रिय मिडिया संयोजन समिति’ गठन गरेको छ।

अन्तर्राष्ट्रिय सद्भाव समितिको अंग अन्तर्गत गठन गरिएको यस समितिमा इजरायलबाट राम ढुंगाना, डेनमार्कबाट प्रभात किरण रहेका छन् । त्यसैगरी युकेबाट ताउ गुरुङ, बेल्जियमबाट सन्तोष न्यौपाने, भारतको मुम्बईबाट जीवन सम्राट, कतारबाट दिपेन्द्र पोख्रेल र वेद प्रसाद दवाडी साथै कुवेतबाट दिपक उप्रेती चयन भएका छन्।

नव गठित समितिले पार्टीका गतिविधि र भावी कार्यक्रमहरु बिभिन्न देशमा गठित सद्भाव समूहका सदस्यहरु माझ प्रचार प्रसार गर्ने कार्य गर्नेछ। गठित समितिले अन्तर्राष्ट्रिय जगतमा कृयाशील बिभिन्न तह र तप्कामा कार्यरत नेपाली भाषी समुदायलाई विवेकशील साझा पार्टीले लिएको देश विकासको लक्ष्य, मूलमर्म, भावनालाई चिनाउन राम्रो भूमिका खेल्ने जनाइएको छ।

नेपालमा सुसंस्कृत राजनीतिको राम्रो बिकल्पको रुपमा हेरिएको विवेकशील साझा पार्टीलाई परदेशमा पनि राम्रो सद्भावसंग हेरिन थालिएको छ। बिभिन्न देशका शहरहरु हुँदै गठन भएका देशै पिच्छेका दर्जनौँ सद्भाव समूहहरुमा बिभिन्न पेशा र ब्यवसाय गर्ने प्रबुद्ध नेपालीहरुको चासो बढिरहेको छ।