गण्डकी प्रदेश

महिलाको अगुवाइमा अथितिगृह सञ्चालन

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चेमा महिलाको अगुवाइमा अथितिगृह सञ्चालन भएको छ । गाउँमा भित्र्ने पर्यटक र पाहुनालाई खाने बस्ने सुविधाका लागि राम्चे आमा समूहले सामुदायिक भवन निर्माण गरेर त्यहाँ अथितिगृह सञ्चालन गरेको हो । बीस लाखमा निर्माण भएको भवनमा गाउँमा भित्र्ने पाहुनालाई बसोबासको व्यवस्था मिलाइएको आमा समूहकी अध्यक्ष कमला पुनले बताइन् ।

“पर्यटकको आवास सुविधाका साथै गाउँमा आयोजना हुने भोज र अन्य कार्यक्रमका लागि पनि यो भवनलाई प्रयोग गर्छौं”, अध्यक्ष पुनले भनीन्े “होमस्टेको अवधारणाअनुसार पाहुनाघर सञ्चालन गरिएको हो ।” दुई तले भवनको माथिल्लो तलामा २० जना बास बस्न सक्ने क्षमताको सात वटा कोठा छन् । तल्लो तलामा डाइनिङ, भान्छा कोठा र तालीम हल बनाइएको छ । राम्चे अन्नपूर्ण धौलागिरि सामुदायिक पर्यावरणीय र कर्बाकेली पदमार्गमा समेटिएको छ ।

पाहुनाघरको आम्दानी समूहको कोषमा राखेर महिलाको आयआर्जन र सामाजिक गतिविधिमा परिचालन गरिने समूहकी सदस्य देवी गर्बुजाले बताए । होटल तथा लजको सुविधा नभएको राम्चे भ्रमणमा जाने स्वदेशी तथा विदेशी पर्यटकलाई अतिथिगृह सञ्चालन भएपछि बास बस्न व्यक्तिका घर खोज्नु नपर्ने भएको छ ।

भवन निर्माणका लागि तत्कालीन जिविसले रु छ लाख पाँच हजार २८२ र राम्चे गाविसले सात लाख ५२ हजार ४०० अनुदान उपलब्ध गराएको थियो । २०७२ मा शुरु भएको भवन निर्माण कार्य यसै महीना सकिएको हो । भवन बनाउन छविलाल गर्बुजा, पिमबहादर गर्बुजा र हेमबहादुर गर्बुजाले जग्गा उपलब्ध गराएका थिए।

जिविस र गाविसको अनुदानका अलावा स्थानीयवासी, देश र विदेशमा रहेका राम्चेवासीबाट चन्दा सङ्कलन गरेर भवनलाई पूर्णता दिइएको निर्माण समितिका संयोजक माया पुर्जाले बताइन् । सामुदायिक वन समूहले रु ४० हजार बराबरको काठ उपलब्ध गराएको थियो ।