समाचार

कारवाहीस्वरूप पसलबाट रु २५ लाख असुली

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चालू आर्थिक वर्षको हालसम्मको अवधिमा १०५ व्यवसायको अनुगमन गरी कारवाहीस्वरूप रु २५ लाख असुल गरेको छ । विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा विभागले बुधबार पत्रकार सम्मेलन गरी गत कात्तिकदेखि लागू भएको नयाँ ऐन पालना गर्दै कारवाहीस्वरूप उक्त रकम असुल गरेको जनाएको छ ।

विभागका महानिर्देशक योगेन्द्र गौचनले गत असोजसम्मको अनुगमनमा अधिकृतले अनुगमनस्थलमा नै कारवाही गर्न मिल्ने व्यवस्था नभएको बताए । नयाँ ऐनअनुसार गत कात्तिकदेखि अनुगमन अधिकृतले गलत सावित गरे आवश्यकतानुसार रु पाँच हजारदेखि तीन लाखसम्म अनुगमनस्थलमा नै रकम असुल गर्न पाउने कानूनी व्यवस्था छ ।

उपभोक्ताको दैनिक जीवनमा प्रत्यक्ष असर पार्ने व्यवसायमा विभागले चालू आवमा दुई हजार ८०० व्यवसाय अनुगमन गर्ने लक्ष्य लिए पनि हालसम्म एक हजार ३८१ को मात्रै अनुगमन गरेको छ । गत आवमा भने विभागले काठमाडौँ उपत्यका र बाहिर गरी पाँच हजारको अनुगमन गरेको थियो । प्रदेश र स्थानीय तहमा अझै कानून नबनेकाले प्रभावकारीरूपमा बजार अनुगमन गर्न केही समस्या भएको विभागले जनाएको छ ।