समाचार

काङ्ग्रेस सभापतिद्वारा पुरीको परिवारलाई भेटी शोक व्यक्त

भद्रपुर । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वसांसद स्व जीतबहादुर पुरीको परिवारलाई भेटी आज शोक व्यक्त गरेका छन् । झापाको भद्रपुरमा भद्रपुर–८ निवासी काङ्ग्रेसका पुराना नेता पुरीको गत फागुन २२ गते ७७ वर्षको उमेरमा भद्रपुरस्थित ओमसाई पाथिभरा हस्पिटलमा उपचारकै क्रममा निधन भएको थियो ।

पूर्वप्रधानमन्त्री देउवाले स्व पुरीकी धर्मपत्नी मीरा केसी, दुई छोरा रविन र अजितलगायत परिवारका सदस्यलाई आज अपराह्न भेटेर पार्टीकोतर्फबाट समवेदना व्यक्त गर्नुभएको काङ्ग्रेस झापा क्षेत्र नं ३ का सचिव रमेश पोखरेलले जानकारी दिए ।

समवेदना व्यक्त गर्न सभापति देउवासँगै पार्टीका उपसभापति विमलेन्द्र निधि र सहमहामन्त्री डा प्रकाशशरण महत पुरी निवास गएका थिए । यसैगरी सभापति देउवाले आजै मेचीनगर–२ निवासी पार्टीका पुराना कार्यकर्ता स्व ढुण्डीराज घिमिरेको परिवारजनलाई भेटी शोक व्यक्त गरेका थिए ।