समाचार

सञ्चारकर्मीले समाज र राष्ट्रका लागि आफ्नो भूमिका निर्वाह गर्नुपर्छ: मन्त्री शाह

धनगढी । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले सञ्चारकर्मीले आफ्नो कर्तव्यलाई बोध गरेर काम गर्न सकेमा देशलाई प्रगति र समृद्धितर्फ लैजान सघाउ पुग्ने बताएका छन् ।

राष्ट्रिय समाचार समिति (रासस) द्वारा यहाँ आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय पत्रकारिता प्रशिक्षण कार्यक्रमको आज भएको समापन समारोहमा मन्त्री शाहले अरूलाई उज्यालो दिने सञ्चारकर्मीले उत्साहका साथ समाज र राष्ट्रका लागि आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । राससकर्मीहरुले आफ्नो राज्यलाई बलियो बनाउने काममा योगदान गर्ने विश्वास व्यक्त गर्दै उनले भने, ‘‘संस्थाका लागि गर्नुपर्ने कामका लागि आगामी दिनमा सँगसँगै छलफल गरेर अगाडि बढ्नेछौँ ।” राससकर्मीहरुलाई लक्षित गर्दै मन्त्री शाहले भने, ‘‘आगामी दिनमा हामीसँगै हुने छौँ, तपाईहरुको समस्यामा प्रदेश सरकार र सञ्चार मन्त्रालय साथमा छ ।”

राससका कार्यकारी अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ले राजनीतिक आस्था र विचार हरेक व्यक्तिको फरक हुनु स्वाभाविक भए पनि राससकर्मी भएर काम गर्दा यस्तो राजनीतिक आस्था विचार बिर्सेर काम गर्न सकेमा मात्र जनताले उन्नत समाचार पाउन सक्ने बताए । आगामी दिनमा रासस सुदूरपश्चिमलाई सक्दो बजेट विनियोजन गरिदिन आग्रह गर्दै अध्यक्ष श्यामलले भने, ‘‘राससले राज्यसँग नजीक टाँसिएर बस्न चाहेको छ, राज्यका समाचार जनतासमक्ष पु¥याउन चाहन्छ, विश्वसनीय समाचार स्थापित गर्न चाहन्छ ।” अध्यक्ष श्यामलले प्रशिक्षण आयोजना गर्न पु¥याएको सहयोगप्रति प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयप्रति आभार व्यक्त गरे ।

सहभागी राससकर्मीका तर्फबाट दुर्गा देवकोटा, प्रेमबहादुर विक र राजेन्द्रप्रसाद पनेरुले प्रशिक्षणबाट प्राप्त सिकाइको अनुभव सुनाएका थिए । रासस प्रदेश संयोजक एकराज पाठक, नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेशका अध्यक्ष अर्जुन शाह र वरिष्ठ पत्रकार चित्राङ्ग थापाले आ–आफ्नो धारणा राखेका थिए ।

प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोग र नेपाल पत्रकार महासङघ सुदूरपश्चिम प्रदेश समितिको समन्वयमा राससद्वारा सुदूरपश्चिम प्रदेशमा पहिलो पटक आयोजित दुईदिने प्रशिक्षणमा प्रदेशका राससकर्मी र अन्य सञ्चारकर्मीको सहभागिता रहेको थियो । सो अवसरमा मन्त्री शाहले तालीमका सहभागीलाई प्रमाणपत्र प्रदान गरेका थिए ।