पर्यटन/संस्कृति

शिरोमणि आचार्य पुरस्कारकालागि प्रधानमन्त्रीसंग छिट्टै कुरा गर्छुः कुलपति उप्रेती

काठमाडौँ । वरिष्ठ साहित्यकार एवम् इतिहासविद्हरुले इतिहासशिरोमणि बाबुराम आचार्यका कृति संरक्षण र प्रवद्र्धन गर्न सबैको पहल आवश्यक रहेकोमा जोड दिएका छन् ।

इतिहासशिरोमणि आचार्यको १३२ औँ जन्मजयन्तीका अवसरमा आज यहाँ आयोजित ‘बाबुराम आचार्य र उनको योगदान’ विषयक विचार गोष्ठीमा उनीहरुले आचार्यका प्रकाशित/अप्रकाशित सबै कृतिको खोज अनुसन्धान गरी जस्ताको तस्तै प्रकाशन गर्न र संरक्षण गर्नुपर्ने सुझाव दिए ।

कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले आचार्यको अध्ययनमा सम्लग्न संघसंस्थासँग मिलेर प्रतिष्ठानले उहाँका कृति संरक्षण र सम्वद्र्धनका लागि आवश्यक कार्य गरिरहेको जानकारी गराउँदै आचार्यको नाममा विशिष्ट पुरस्कार स्थापना गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसंग समन्वय गर्ने दृढता ब्यक्त गर्दै स्व आचार्यले मुलुकलाई ठूलो योगदानगरेको दाबी गरेका थिए ।

नेपालको इतिहास, भाषा, साहित्यलगायतका क्षेत्रमा इतिहासशिरोमणि आचार्यको योगदानलाई संस्थागत गर्न सबैको सहयोगको अपेक्षा गर्दै आचार्यका अप्रकाशित कृति आगामी दिनमा प्रकाशन गर्दा मूलभावमा तोडमोड गर्न नहुने धारणा व्यक्त गरे ।

इतिहासशिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानका अध्यक्ष प्राडा तुलसीराम बैद्यले आचार्यलाई राज्यले इतिहासशिरोमणि पदवी दिएर ठूलो सम्मान गरेको भन्दै आचार्यको विद्वताको कदर गर्न उहाँका सबै कृति संरक्षण गरी नयाँ पुस्ता समक्ष ल्याउनुपर्ने विचार व्यक्त गरे ।

कार्यक्रममा प्राडा त्रिरत्न मानन्धरले ‘बाबुराम आचार्य र उनको योगदान’ विषयक कार्यपत्र प्रस्तुत गर्दै इतिहासशिरोमणि आचार्यले नै सगरमाथाको नामाकरण पहिलो पटक प्रकाशनमा ल्याएको बारेमा जानकारी गराए । प्राडा मीना ओझाले कार्यपत्रमाथि टिप्पणी गर्दै इतिहास र साहित्यलगायत क्षेत्रमा आचार्यले गर्नुभएको योगदान आजको पुस्ताको लागि इतिहासको स्रोत बनेको उल्लेख गरे ।

पूर्व राजदूत एवम् आचार्य बन्धु समाजका संस्थापक अध्यक्ष राजेश्वर आचार्यले विश्वमा नेपाललाई चिनाउने एभरेष्ट शब्दसँगै कोेष्ठमा सगरमाथा पनि उल्लेख गर्न सरकारले पहल गर्नुपर्ने सुझाव दिए ।

कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा जगत्प्रसाद उपाध्याय, प्रतिष्ठानको समाजशास्त्र विभाग प्रमुख प्रा दिनेशराज पन्त, प्रतिष्ठानका महासचिव बाबुराम आचार्यलगायतले आगामी पुस्ताका लागि समेत मुलुकको गौरवमय इतिहास जीवन्त राख्न इतिहासशिरोमणि आचार्यको योगदान अतुलनीय रहेको बताए । कार्यक्रममा इतिहासशिरोमणि आचार्यको जीवनी र कृतिकोे बारेमा जानकारी दिने उद्देश्यका साथ www.hbamf.org.np  नामक नयाँ वेभसाइट सुरु गरिएको थियो ।