बाग्मती

सरकार पृथक ढङ्गले अघि बढ्दैछ, खानेपानीमा लगानी गर्नुहोस्: मन्त्री मगर

काठमाडौँ । खानेपानी मन्त्री बीना मगरले दिगो विकासका लक्ष्य हासिल गर्न सरकार रफ्तारमा अघि बढ्न खोजिरहेको बताएकी छन् । विश्व बैंकको प्रतिनिधिमण्डल सँग आज सिंहदरबारमा भएको छलफलमा उनले सबैका लागि आधारभूत र सुरक्षित पिउने पानीमा सर्वसुलभ पहुँच पु¥याउन सरकारले योजनाका साथ काम गरिरहेको बताईन् ।

उनले भनिन्, “दिगो विकासको लक्ष्य हासिल गर्न निकै चुनौती छ । सरकार पृथक ढङ्गले त्यो लक्ष्य हासिल गर्न योजना बनाएर अघि बढ्दैछ । जनताले अझै पनि खानेपानीका लागि सङ्घर्ष गर्नुपरेको छ । यस्तो समस्या हटाउन मन्त्रालयले नयाँ योजना र कार्यक्रम बनाउँदैछ ।” ग्रामीण क्षेत्रमा ‘फण्ड बोर्ड’मार्फत खानेपानीको आयोजना सञ्चालन गर्न विश्व बैंकले गरेको सहयोगको मन्त्री मगरले उच्च प्रशंसा गरेको उनका प्रेस संयोजक सुकदेव चापागाईंले जानकारी दिए ।

ग्रामीण क्षेत्रमा जलाशययुक्त तथा लिफ्टिङ ग्राभिटी खानेपानी योजनाका साथै शहरी क्षेत्रमा २४ सै घण्टा प्रशोधित खानेपानी योजना र फोहर पानी प्रशोधित योजनामा सहयोग गर्न विश्व बैंकलाई मन्त्री मगरले आग्रह गरिन् । उनले हिमाली क्षेत्रमा स्प्रिङ वाटरको सम्भाव्यता खोजी गर्नसमेत आग्रह गरिन् । तीन वर्षभित्र आधारभूत खानेपानीको सुविधा पु¥याउन मन्त्रालय योजनाका साथ लागिरहेको उनको भनाइ थियो । मन्त्री मगरले खानेपानी तथा पूर्ण सरसफाइको क्षेत्रमा उपभोक्ता समिति र स्थानीय समुदायको सहभागिता गराई अभियान सञ्चालन गर्न खोजिएको बताईन् ।

सो अवसरमा खानेपानी मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले योजना बैंक बनाएर अघि बढ्नुपर्ने भएकाले विश्व बैंकसँग सधैँभरि सहकार्य गर्न मन्त्रालय तयार रहेको प्रतिबद्धता जनाइन् । विश्व बैंकका निर्देशक स्टेभन स्कनबर्गरले खानेपानी तथा सरसफाइका क्षेत्रमा नेपाल सरकारसँग सहकार्य गर्न विश्व बैंक सधैँ तयार रहेको बताइन् ।