प्रदेश 1

वडामा पौने तीन अर्बको लगानीमा (भ्यू टावर) निर्माण हुने

उर्लाबारी । झापा दमक नगरपालिका–३ का राजकुमार बानियाँलाई आफ्नै वडामा पौने तीन अर्बको लगानीमा दृश्यावलोकन स्तम्भ (भ्यू टावर) निर्माण हुने सुन्दा शुरुमा त उनलाई विश्वासै लागेन ।

बानियाँलाई मात्रै होइन, छरछिमेकी र साथीभाईलाई समेत त्यति ठूलो लागतमा दृश्यावलोकन स्तम्भ निर्माण हुन्छ भन्ने विश्वास लागेको थिएन । तर २०७३ जेठ २८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले दृश्यावलोकन स्तम्भ निर्माणको शिलान्यास गरेपछि बानियाँ मात्र होइन, दमक नगरपालिका र छिमेकी स्थानीय तहका स्थानीयवासी पनि उत्साहित बनेका थिए ।

प्रथम पटक ओली प्रधानमन्त्री हुँदा शिलान्यास भएको सो स्तम्भको निर्माण प्रक्रिया उनी दोस्रो पटक प्रधानमन्त्री हुँदा बल्ल शुरु भएको छ । राष्ट्रिय गौरवका आयोजनाअन्तर्गत दमक नगरपालिका–३ मा दृश्यावलोकन स्तम्भ निर्माणका लागि अहिले सहरी विकास मन्त्रालयले ३५ दिने टेण्डर आह्वान गरेको छ ।

स्तम्भ निर्माणका लागि स्थानीयवासीले लाखौँ रुपैयाँ मूल्य पर्ने जग्गा दमक नगरपालिकालाई निःशुल्क दिएका छन् । स्थानीयवासीले विभिन्न मितिमा गरी गत असार १० गतेभित्रमा ५ बिघा जमीन नगरपालिकाको नाममा रजिष्ट्रेशन पास गरिदिएका छन् ।

स्थानीयवासीले १० धुरदेखि एक बिघासम्म जमीन निःशुल्क उपलब्ध गराएका छन् । आफ्नै वडामा दृश्यावलोकन स्तम्भ निर्माणका लागि निःशुल्क जग्गा दिए शान्तिराम गौतमले भने, “आफ्नो ठाउँ मात्र नभएर समग्र झापा र पूर्वी मोरङकै विकासमा टेवा पुग्ने भएकाले यो योजनाको निर्माणका लागि जग्गा दिएका हौँ ।”

यो स्तम्भ निर्माण भएपछि दमकमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सहज हुने गौतमको भनाइ छ । दृश्यावलोकन स्तम्भ अवलोकनका लागि मात्र नभएर पूर्णरुपमा व्यावसायिक हुने भएकाले दमकको समग्र क्षेत्रको विकासमा यसले टेवा पु¥याउने स्थानीयवासी शान्तिदेवी धिमालले बताईन् ।

उनले भनिन्, “टेण्डर आह्वानसँगै दृश्यावलोकन स्तम्भ निर्माण हुने निश्चित भएपछि स्थानीयवासीमा खुशी छाएको छ ।” सो स्तम्भ निर्माणका लागि सहरी विकास मन्त्रालयले कुल रु दुई अर्ब ७२ करोड ५१ हजार ४८४ को लागत अनुमान गरेको छ ।

पाँच बिघा क्षेत्रफलमा निर्माण हुने सो दृश्यावलोकन स्तम्भ अढाई वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का लगाउने कार्य भइरहेको हो । १८ तले स्थायी संरचनाको सो स्तम्भ ७२ मिटर अग्लो रहनेछ । जसमा २८ मिटर स्टिलको टावर रहने दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद तिम्सिनाले जानकारी दिए ।

दृश्यावलोकन स्तम्भमा अण्डर ग्राउण्ड पार्किङ, व्यावसायिक पसल, सेमिनार हल, कमन हल, प्रदर्शनी हल, सिनेमा हल, कर्पोरेट कार्यालय लगायत रहनेछन् । दृश्यावलोकन स्तम्भ निर्माण हुने दमक नगरपालिका–३ का वडाध्यक्ष नवीन बरालले यसको निर्माणपछि नगरमा विकासका अन्य सम्भावना पनि खुल्ने बताए।

“दृश्यावलोकनस्तम्भ गौरवको योजना हो”, उनले भने, “यसलाई सफल बनाउनु सबैको साझा दायित्व हो ।” ‘हाम्रो एउटा सपना पूरा हुने भयो’ बरालले भने, “यसले दमकलाई प्रदेश १ कै प्रमुख पर्यटकीय नगरको रुपमा विकास गराउनेछ ।” दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले दृश्यावलोकन स्तम्भले पूर्वी नेपालकै रौनक बढाउने दाबी गरे ।

दमकलाई पर्यटकीय हब बनाउने उद्देश्यका साथ नगरपालिका अघि बढेको बताउँदै प्रमुख ओलीले भने, “ दृश्यावलोकन स्तम्भले पूर्वी नेपालकै पर्यटन क्षेत्रको विकाशमा सहयोग पु¥याउँछ ।” दमकमा सो स्तम्भ निर्माण भएपछि यहाँको व्यापार व्यवसायको प्रवद्र्धन हुुनुका साथै पर्यटकीय गन्तव्यको रुपमा पनि विकास हुने नगर प्रमुख ओलीको भनाइ छ ।

उनले दृश्यावलोकन स्तम्भ दमकका जनताको मात्र नभई प्रधानमन्त्री ओलीको पनि सपनाको आयोजना भएको सुनाए । स्तम्भ निर्माण हुने स्थान पूर्वपश्चिम राजमार्गदेखि तीन किलोमिटर तथा दमकको मुख्य चोकदेखि ६ किलोमिटर उत्तरमा पर्दछ ।