प्रदेश 1

१९ वडामा एकीकृत ज्येष्ठ नागरिक भवनको शिलान्यास

विराटनगर । विराटनगर महानगरपालिका प्रमख भीम पराजुलीले नगरका १९ वडामा एकीकृत ज्येष्ठ नागरिक सेवा केन्द्र स्थापना गरिने बताएका छन् । ज्येष्ठ नागरिक हातेमालो समाजद्वारा ज्येष्ठ नागरिकलाई सेवा सुविधा उपलब्ध गराउन विराटनगर–३ मा निर्माण गरिने भवनको आज यहाँ शिलान्यास गर्दै उहाँले निर्माण गरिने भवनका लागि रु १० लाख निकासासमेत गरिएको जानकारी दिए।

महानगरले ज्येष्ठ नागरिकका लागि दिवासेवासमेत सञ्चालन गर्ने उनले बताए । कार्यक्रममा जिल्ला वन कार्यालय मोरङका प्रमुख विशाल घिमिरेले भवनका लागि आवश्यक पर्ने काठ नेपाल सरकारको सहुलियत दरमा उपलब्ध गराइने जानकारी गराए ।

संस्थाका अध्यक्ष जीवननाथ घिमिरे र वडाध्यक्ष विनोद बस्नेतले भवन निर्माणबाट ज्येष्ठ नागरिकबीच भेटघाट र समय कटाउन सहज हुने विचार व्यक्त गरे । उक्त भवन दुई कट्ठा पाँच धुर जग्गामा निर्माण गरिने भएको छ ।