प्रदेश 1

पश्चिम नेपाल जोड्ने मदन भण्डारी चुरे राजमार्गको सर्भे अन्तिम चरणमा

पशुपतिनगर । इलामको रोङ गाउँपालिका सलकपुरबाट पश्चिम नेपाल जोड्ने मदन भण्डारी चुरे राजमार्गको सर्भे अन्तिम चरणमा पुगेको छ । राजमार्ग कुन क्षेत्रबाट जाने भन्ने विवादले रोकिएको चुरे राजमार्गको पुनः काम शुरु भएको हो ।

भारतको दार्जिलिङ जिल्लास्थित खरबनी छेउको नेपाली भूभागबाट शुरु हुने राजमार्ग चुरे क्षेत्रको बीच भागबाट पश्चिम नेपालको प्यूठान जोड्ने छ । महेन्द्र राजमार्ग भन्दा २५ किलोमिटर उत्तरको चुरे बस्तीको बीचबाट पूर्व पश्चिम जोड्ने चुरे राजमार्गको सर्भे अहिले इलामको चुलाचुली गाउँपालिका र माई नगरपालिकामा भइरहेको छ ।

नेपालको पूर्वी सीमा मेची नदीदेखि चुरेभावर र भित्री मधेशका बस्ती छिचोल्दै पश्चिमी सीमा महाकाली नदी जोड्ने राजमार्गको पूर्वी खण्डमा १५ दिनभित्र सर्भे सकिने चुरे राजमार्ग सरोकार समितिका अध्यक्ष बृहस्पति खतिवडाले बताए । एक हजार २०० किलोमिटर लामो राजमार्गमध्ये पूर्वी खण्डस्थित इलामको चुलाचुली गाउँपालिका, माई नगरपालिका, झापाको अर्जुनधारा नगरपालिका हुँदै रोङ गाउँपालिकाको सलकपुरसम्म सर्भे गरिनेछ ।

सरकारले २०७५ जेठ ६ गते मदन भण्डारी चुरे राजमार्ग निर्माणको स्वीकृति दिएको थियो । चुरे क्षेत्रमा बसोबास गर्ने नागरिकलाई लक्षित गरी पूर्वी नेपालदेखि पश्चिम जोड्ने राजमार्गका लागि सरकारले आर्थिक वर्ष २०७५/७६ को बजेटमा रु चार अर्ब ५० करोड विनियोजन गरेको छ । चुरे राजमार्गको धरानदेखि हेटौँडासम्मको करीब ३०० किमी खण्ड गत आर्थिक वर्षदेखि निर्माण भइरहेको सडक विभागले जनाएको छ ।

दुई लेनको हुने सो सडकको सुनसरी, मोरङ, झापा र इलामका चुरे क्षेत्रका बस्ती जोड्ने क्षेत्रमा स्थानीयको लगानीमा ट्रयाक खोली सकिएको छ भने पुल निर्माण भइरहेका छन् । धरानदेखि चतरा गाईघाट सिन्धुली हुँदै हेटौँडासम्मको ३०० किलोमिटर सडक बनाउन गत वर्ष नै दुईवटा खण्डमा विभाजन गरेर ठेक्का लगाइएकाले पूर्व जोड्ने गरी सो सडकको धरानबाट इलामको सलकपुरसम्म सम्भाव्यता अध्ययन सकेर डिटेल सर्भेको काम भइरहेको सडक विभागले जनाएको छ ।

महेन्द्र राजमार्गको विकल्पको रुपमा रहेको दुई लेनको हुने गरी यो सडक बनाउँदा प्रतिकिलोमिटर रु पाँचदेखि छ करोडसम्म खर्च हुनेछ । चुरे राजमार्गलाई विस्तार गरेर पूर्वबाट पश्चिम जोड्दा करीब रु ५० अर्ब खर्च हुने अनुमान सडक विभागको छ । स्थानीय सडकको करीब ४०० किलोमिटर सडक प्रयोग गरिने राजमार्गलाई पूर्व पश्चिम जोड्न अब ५०० किलोमिटर नयाँ ट्रयाक खोल्नुपर्ने सडक विभागले जनाएको छ । मध्यपहाडी लोकमार्ग र महेन्द्र राजमार्गका बीचमा पर्ने चुरे राजमार्गले भित्री मधेश र चुरेको मध्यभागलाई समेट्नेछ ।

चुरेको भूभाग कमलो हुने भए पनि बाक्लो बस्ती विकास भएकाले प्राविधिक रुपमा बनाउन नमिल्ने ठाउँबाहेक सबै बस्ती समेट्ने गरी राजमार्गको सर्भे भइरहेको पूर्वप्रधानमन्त्री तथा इलाम क्षेत्र नम्बर १ का सांसद झलनाथ खनालले बताए । महेन्द्र राजमार्गको वैकल्पिक मार्गको रुपमा रहेको चुरे राजमार्गलाई अधिकतम चुरे क्षेत्रका बासिन्दाले लाभ लिने स्थान छनोट गर्न पूर्वप्रधानमन्त्री खनालले आग्रह गरेका छन् ।