बाग्मती

पुल निर्माण भएको ११ वर्ष नपुग्दै भत्किन लाग्यो

काठमाडौँ । राष्ट्रियसभाको शून्य समयमा बोल्ने सांसदले बर्खा शुरु हुन लागेको हुनाले पुल निर्माणलाई सरकारले तीव्रता दिनुपर्नेमा जोड दिइएको छ । बैठकमा सांसद दुर्गाप्रसाद उपाध्यायले लुम्बिनी पर्यटकीय र धार्मिक महत्वको स्थल भएको हुनाले त्यहाँ जाने बाटामा रहेको बेथानी पुल निर्माण अझै हुन नसकेको उल्लेख गर्दै पप्पु कन्स्ट्रक्सनले काम नगरेको हुनाले ठेक्का अर्कालाई दिएर भए पनि पुल निर्माण गर्नुपर्ने सुझाव सरकारलाई दिए ।

सांसद प्रकाश पन्तले पोखरामा रहेको विजयपुर पुल निर्माण भएको ११ वर्ष नपुग्दै भत्किन लागेको हुँदा बर्खायाम नलाग्दै निर्माण गर्न माग गरे । सांसद नैनकला ओझाले देशमा सुकुम्बासी समस्या अझै पनि समाधान नभएको उल्लेख गर्दै कतिपय सुकुम्बासीका नाममा पुर्जासमेत नभएको भनी सरकारको ध्यानाकर्षण गराए ।

सांसद रमेशजङ्ग राजमाझीले नेत्रविक्रम चन्द नेतृत्वको पार्टीलाई प्रतिबन्ध लगाउने अनि स्वतन्त्र मधेशको नारा लगाउने सिके राउतलाई मूल धारमा ल्याउने व्यवहारले कसैलाई काखा र कसैलाई पाखा भएको बताए । सांसद रमेशप्रसाद यादवले २०७२ सालमा थरूहट र मधेश आन्दोलनको छानबीनका लागि सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द लालको संयोजकत्वका गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरे ।