प्रदेश 2

भिषण आगलागीबाट सात लाख भन्दा बढीको क्षति

बर्दिवास । महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका–४ रामनगरमा आगलागी हुँदा रु सात लाख बढीको क्षति भएको छ । बस्तीका ठाकुर बडहीको घरमा आज विद्युत् सट भई आगलागी हुँदा लत्ताकपडा, धातुका भाँडाकुँडा र गरगहना जलेर नष्ट हुँदा रु सात लाख बढीको नोक्सान भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको हो ।

ठाकुरको पक्की घरको मुख्य राखनधरन गरिने कोठामा बिजुली पङ्खाबाट विद्युत् सर्ट भई आगो लागेको प्रत्यक्षदर्शी रामईश्वर ठाकुरले जानकारी दिए । आगलागी हुनासाथ सीतापुर प्रहरी चौकीबाट पुगेको प्रहरी र त्यहाँका स्थानीयवासीको सहयोगमा आगो नियन्त्रण गरिएको छ ।

विद्युत् सर्ट भएर कोठामा ह्वारह्वार्ती आगो दन्केपछि घरका मानिस सबै बाहिर भागेका थिए । विद्युत् मिटरको तार चुँडाएपछि कोठामा लागेको आगो पम्पसेट (इनारबाट पानी तान्ने मेशिन) चलाएर नियन्त्रण भएको थियो । घटनामा मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए।