समाचार

बेवारिसे शव सडेर शवगृह दुर्गन्धीत, नाक छोपेर हिँड्नुपर्ने बाध्यता

परासी । पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित बजारको मुख्य भाग बुद्धचोक नजिकै सडक छेउमा रहेको शवगृहका कारण दुर्गन्ध फैलिएको छ ।

पुरानो भएकाले शवगृहमा शवको दुर्गन्ध कम गर्ने कुनै आधुनिक उपकरण छैन, जसले गर्दा लामो समयसम्म शव राख्दा त्यसको दुर्गन्धका कारण आसपासका बासिन्दालाई सास्ती भएको छ ।

दुर्गन्धका कारण सर्वसाधारण नाक छोपेर हिँड्नुपर्ने अवस्था छ भने स्थानीय सवारी चालक, यात्रुदेखि व्यवसायीसमेत दुर्गन्धको चपेटामा परेका छन् । गन्धकै कारण व्यवसायमा धक्का पुगेको र रोग फैलिन सक्ने स्थानीय व्यवसायीको गुनासो छ ।

इ–रिक्सा चालक भवानी खरेल भने, “अस्पतालको जग्गा धेरै छ तर शव राख्ने ठाउँ साँघुरो छ, यसलाई व्यवस्थित गर्नुपर्छ, बेवारिसे शव राख्ने स्थान छुट्टै हुँनु पर्छ । बुद्धचोकमै शवगृह हँुदा चोक नै गन्हाउने गरेकाले चोकमा बस्न नसकिने, नाक छोपेर हिँड्नुपर्ने बाध्यता छ ।”

गन्धले गर्दा रिक्सा चालकलाई समस्या हुने गरेको तथा यात्रुलाई सेवा दिन पनि गाह्रो भइरहेको उनले बताए । अस्पतालले नगरवासीको समस्या बुझेर यसको छिटो व्यवस्थापन र बुद्धचोकभन्दा अन्यत्र सार्नुपर्ने उनको सुझाव छ ।

बेवारिसे शव सडेर गल्ने हँुदा गन्ध आउने गरेको अस्पताल नजिक मेडिकल सञ्चालन गरिरहेका औषधि व्यवसायी मधुसुधन चौधरीको गुनासो छ । यसको गन्धले बिरामी नै पर्ने गरेको तथा नाक थुनेर सेवा दिनुपरेको उनले बताए ।

बेवारिसे शवलाई समयमा पहिचान गर्न प्रहरीले ढिलासुस्ती गर्नाले पनि शव धेरै दिन राख्दा गन्ध आउने गरेको उनको बुझाइ छ । नजिकै रहेको लामिछाने मःम रेष्टुरेण्टका सञ्चालक पवित्रा लामिछानेले शवगृहको गन्धले होटलमा आउने ग्राहक पनि फर्कने गरेको गुनासो गरे ।

सकेसम्म शवघर बजारभन्दा टाढा सार्न स्थानीयवासीको माग छ ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेट डा अनन्त शर्माले शवगृहले अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मीदेखि सर्वसाधारण सबैलाई असर गरेको स्वीकार गर्दै वैज्ञानिक दृष्टिले पनि अहिले भएको शवगृहको स्थान उपयुक्त नभएको बताए ।

खासगरी वेवारिसे शवको ७२ घण्टासम्म पनि अनुसन्धान चल्ने र प्रहरीको निगरानीमा हुने भएकाले अस्पताललाई समेत गाह्रो भएको अस्पताल प्रशासनको भनाइ छ । रामग्राम नगरपालिकाले पनि बेवारिसे शवको व्यवस्थापन समयमै नगर्दा बजार नै दुर्गन्ध हुने गरेको अस्पतालले जनाएको छ ।