गण्डकी प्रदेश

स्थानीयवासीकोे श्रमदानद्वारा सडक निर्माण

गलेश्वर । म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोटमा रहेको पर्यटकीयस्थल बाराही ताल जानका लागि सडक निर्माण गरिएको छ । वडा कार्यालयको सिफारिशमा गाउँपालिकाबाट विनियोजित रु तीन लाख र स्थानीयवासीकोे रु २५ हजार बराबरको श्रमदानमा सडक निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष पुकार घर्तीले जानकारी दिए ।

अध्यक्ष घर्तीले दिएको जानकारीअनुसार देउगोरे, झाम्ताबोट र दास हुँदै बाराही तालसम्मका लागि ८०० मिटर सडक निर्माण गरिएको हो । सडकको चौडाइ छ मिटर फराकिलो बनाइएको छ । पछिल्लो समय पर्यटकीयस्थलको रुपमा विकास हुँदै गएको तालमा पर्यटन प्रवद्र्धन गर्न मोटरबाटो निर्माण गरिएको वडाध्यक्ष टङ्कप्रसाद पुनमगरले बताए। साथै, तालमा घुम्न आउने पर्यटकलाई लक्षित गरी बगैँचा निर्माण गर्न वडा कार्यालयबाट रु तीन लाख बजेट विनियोजन गरिएको वडाध्यक्ष पुनमगरले जानकारी दिए ।

यसैगरी बराही तालको पर्यटन प्रवद्र्धन गर्न बाराही ताल हुँदै छिमेकी जिल्ला ताराखोला गाउँपालिकाको देउरालीसम्म मोटरबाटो निर्माण हुने उनले जानकारी दिए । बराही ताल जानका लागि यसअघि वडा कार्यालयद्वारा पदमार्ग निर्माण गरिएको छ ।