खेलकुद

खेलकूद संस्थागत रुपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको छ: अध्यक्ष दाहाल

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले खेलकूदको संस्थागत रुपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

अखिल नेपाल फुटबल सङ्घद्वारा विराटनगरको शहीद रङ्गशालामा आयोजित महिला साफ फुटबल च्याम्पियनसीप प्रतियोगिताको उद्घाटन समारोहमा उनले सरकारले स्थानीय तहबाटै खेलकूदको जग बसाल्ने गरी योजना अघि बढाउने बताए ।

अध्यक्ष दाहालले नेपालमा पहिलो पटक भइरहेको अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताले विराटनगरको मात्र नभई देशकै गौरव बढेको छ भने । उनले राष्ट्रिय एकता बलियो बनाउन र स्वास्थ्यको लागि पनि खेलकूदको ठूलो भूमिका छ भने । अध्यक्ष दाहालले नेपाली महिला फुटबल खेलाडीले आफूलाई शक्तिशाली बनाउन खेलमा अझै सुधार गर्दै जानुपर्ने सुझाव दिए ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले तीन वटै सरकारको प्राथमिकतामा खेलकूद रहेको छ भने । उनले विराटनगरलाई खेलकूदको राजधानी बनाउने योजनासाथ अधि बढ्ने दृढता व्यक्त गरे । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले यो प्रतियोगिता विराटनगरमा हुनु नै ठूलो उपलब्धी हो भने ।

आयोजक सङ्घका अध्यक्ष कर्माछिरिङ शेर्पाले फुटबल जस्ता खेलले देशको प्रतिष्ठा बढाउन र खेलाडीलाई व्यावसायिक बन्न मद्दत गरिरहेको छ भने ।आजको उद्घाटन खेलमा नेपालले भुटानलाई शून्यका विरुद्ध तीन गोलले पराजित ग¥यो । भोलिको खेल भारत र माल्दिभ्सबीच हुने भएको छ ।