शिक्षा

ललितपुर महानगरले नेपाल भाषाको विद्यालय खोल्ने तयारी गर्दैँ

ललितपुर । शहरी क्षेत्रमा अङ्ग्रेजी माध्यममा पढाउने विद्यालयको सङ्ख्या बढिरहँदा ललितपुर महानगरपालिकाले नेपाल भाषाको विद्यालय खोल्ने तयारी गरेको छ । बालबालिकालाई मातृभाषामा पढाउने उद्देश्यले नेपाल भाषाको विद्यालय खोल्नका लागि छलफल भइरहेको महानगरपालिकाका शिक्षा अधिकारी महेन्द्रबहादुर क्षेत्रीले बताए ।

महानगरले केही वर्ष पहिलेदेखि प्रारम्भिक बाल विकास (इसिडी) मा नेपाल भाषाबाट पढाउन शुरु गरेको थियो । हाल १० इसिडी सञ्चालनमा छन् । विद्यालयका तल्ला कक्षबाट शुरु गरेर नेपाल भाषालाई माथिल्लो कक्षासम्म पु¥याउने उद्देश्य रहेको उनले बताए । उनले भने, “आधारभूत तहमा अभिभावकले चाहँदा आफ्नो भाषामा पढाउन पाउनेछन् ।”

सामुदायिक विद्यालयले अभिभावकलाई आकर्षित गर्ने भन्दै अङ्ग्रेजी माध्यममा पढाइरहँदा महानगरपालिकाले भने मातृभाषामा कक्षा शुरु गर्ने तयारी गरिएको जनाएको छ । कतिपय अभिभावक अङ्ग्रेजीमा आकर्षित भइरहे पनि कतिपय अभिभावकले सन्तानलाई नेपाली र कतिपय अभिभावकले मातृभाषामा पढाउन चाहेको शिक्षा अधिकारी क्षेत्रीले बताए ।

अहिले सञ्चालनमा रहेका विद्यालयले मातृभाषामा पनि पढाउनुपर्ने उनले जोड दिए। उनले भने, “चाहेको माध्यममा पढाउन पाउने गरी विद्यालयले फरक फरक माध्यममा पढाउनुपर्छ ।” महानगरपालिकामा सामुदायिक ४० र संस्थागत १८२ गरेर जम्मा २०२ विद्यालय र प्रारम्भिक बाल विकास ७४ रहेका छन् । नेपाल भाषाको लिपि रञ्जना हो जुन नेपालले संयुक्त राष्ट्र सङ्घमा सदस्यताका लागि आवेदन दिँदा आफ्नो मौलिक लिपि भनी पेश गरेको थियो ।