लुम्बिनी

मुख्य सडक खण्डमा पछिल्लो समय छाडा चौपायाको हालीमुहाली बढ्दै

जीतपुर । कपिलवस्तु जिल्लाका मुख्य सडक खण्डमा पछिल्लो समय छाडा चौपायाको हालीमुहाली बढ्दै गएको छ । सडकबीचबाट छाडा चौपाया आवतजावत गर्ने र बस्ने भएपछि दुर्घटना र जाम बढाएको छ । कपिलवस्तुमा छाडा चौपाया नियन्त्रण गर्ने सरोकार निकायले भने अहिलेसम्म कुनै पहल गरेको देखिएको छैन ।
जिल्लाका मुख्य र व्यस्त रहने बजार चार नम्बर , गोरुसिँगे, इमलिया, चन्द्रौटा, पिपरा, तौलिहवा, कृष्णनगरलगायत सडकमा राज गरेका छाडा चौपायकै कारण सडक दुर्घटना बढेको र सवारी आवतजावतमा बाधा पुगिरहेको छ । सडकमा ठिङ्ग उभिएका र दौडिरहेका पशुचौपायाले पैदलयात्री र सवारी चालकको सातोपुत्लो लिन्छन् ।
सडकपेटीमा बस्न, खान र हिँड्न पाएका गाईगोरुले आवतजावतमा अवरोध र सडक दुर्घटना बढाएको छ । कपिलवस्तुमा बूढा पशुचौपाया गाईगोरु सडकमा ल्याएर छाड्ने संस्कार नै भइसकेको छ । केही समयअघि मात्र छाडा चौपायाका कारण जिल्लामा केही व्यक्ति घाइतेसमेत भएका छन् । आँखै अगाडि दुर्घटना देख्दा प्रहरी र नगपालिकाले भने यसका निम्ति केही कदम चालेर काम अघि बढाएको पाइएको छैन । सडकमा गुड्ने सवारी जाँच र सडकमा हुने भीडभाड नियन्त्रणको जिम्मा लिएको ट्राफिक प्रहरीले पनि यसमा खासै ध्यान पु¥याएको देखिँदैन । यातायातका सवारी साधन आवतजावत गर्ने राजमार्गमा जनावरको राज नै अधिकांश दुर्घटनाको कारक बनेको छ ।
कपिलवस्तुमा आ व ०७४।७५ मा छाडा चौपायाका कारण चार दुर्घटना भएको प्रहरीले जनाएको छ । तिनमा १६ चौपाया एक वर्षका अवधिमा दुर्घटनाबाट मरेको बताइएको छ । सडकमा छाडा चौपाया हुँदा सवारी चलाउँदा झुक्किने गरेको सवारी चालक बताउँछन् । नेपालका साँगुरा सडकमा वस्तुभाउ बस्दा समस्या हुने गरेको चालकको भनाइ छ । दिनभर लखट्ने गरे पनि रातमा सुतेको समयमा आउँदा खेतबारीमा उत्पादन गरेका तरकारी खाइ दिइसकेको पाइन्छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा भने छाडा चौपायालाई स्थानीय तहले नै व्यावस्थापन गर्नुपर्ने व्यवस्था रहेको छ । अहिले जिल्लाका केही स्थानीय तहले यस समस्यालाई केही मात्रामा नियन्त्रण गर्न छलफल गरे पनि त्यो कुरा छलफलमै अल्झिएको छ । यता जिल्लाका स्थानीय तहले छिमेकी जिल्लाका बासिन्दाले लुकिछिपी रुपमा छाडा चौपाया छाड्दा स्थानीय तहलाई चुनौतीको विषय बनेको जनाएका छन । एकअर्को स्थानीय तहसँंग समन्वय नहुँदा समस्या झन् विकराल बन्दै गएको छ ।