बाग्मती

एकताका लागि अध्यक्षद्वय जबरा र लोहनीको हस्ताक्षर

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) को उच्चस्तरीय कार्यसम्पादन समितिको आज बसेको बैठकले अन्तरिम विधान परिमार्जनसहित अनुमोदन गरेको छ । गत माघ १७ गते राप्रपा (प्रजातान्त्रिक) र एराप्रपा (राष्ट्रवादी) बीच एकताका लागि अध्यक्षद्वय पशुपतिशम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले हस्ताक्षर गरेको आधारपत्रानुसार नियमावली, घोषणापत्र, प्रतीकचिह्न, झण्डा, चुनाव चिह्नलगायत विषयमा बैठकमा छलफल भएपछि विधान पारित भएको वरिष्ठ नेता राजाराम श्रेष्ठले जानकारी दिए। विधानमा २०५ केन्द्रीय कार्यसमिति रहने व्यवस्था छ ।

बैठकले एकीकरण हुनुअगाडि दुई दलमा रहेका केन्द्रीय कार्यसमितिका सदस्यलाई नयाँ कार्यसमितिमा ल्याउने निर्णय पनि गरेको छ । नयाँ कार्यसमितिको नामावली निर्वाचन आयोगमा बुधबार पठाइने भएको छ ।

यसैबीच राप्रपाले राष्ट्रिय अखण्डता, स्वतन्त्रता र हिन्दूत्वको माग गर्दै यही फागुन १५ गतेदेखि शुरु गरेको राष्ट्रिय स्वाभिमान यात्रा मेची–महाकालीको विभिन्न भागमा पुगेर यही फागुन ३० गते काठमाडौँ आइपुग्ने भएको छ । आगामी चैत १ गते भने समापनसभा गरिने कार्यक्रम छ । उक्त यात्रा गत आइतबार बाँके, सोमबार दाङ र मङ्गलबार रुपन्देही पुगेको थियो ।