आर्थिक

एक हजार ८०० सहकारी घटाएर ७०० मा ल्याउने राष्ट्रिय सहकारी महासङ्घको तयारी

काठमाडौँ । पछिल्लो समय सहकारीको सङ्ख्या अत्यन्त धेरै रहेकाले राष्ट्रिय सहकारी महासङ्घले यसलाई घटाउन सुझाव दिएको छ । नेपाल सहकारी पत्रकार समाजले आज यहाँ आयोजना गरेको सहकारी एकीकरण विषयक छलफलमा राष्ट्रिय सहकारी महासङ्घका वरिष्ठ उपाध्यक्ष मीनराज कँडेलले सङ्ख्यात्मक रुपमा वृद्धि गर्नुभन्दा गुणात्मकतातर्फ ध्यान दिनुपर्ने बताए ।

सहकारी विभागका रजिष्ट्रार शिवकुमार कार्कीले सहकारी एकीकरण गर्नु चुनौती र आवश्यकता दुवै रहेकाले सञ्चालक सदस्यको खुशीमा प्रक्रिया अघि बढाउनुपर्ने धारणा राखे । “विभागले निकट भविष्यमानै बढी सहकारी भएको ३५ जिल्लामा एकीकरणको सकारात्मक पक्षसहितको विभिन्न कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ”, उनले भने। कामपा सहकारी विभागका प्रमुख नमराज ढकालले महानगरमा रहेका एक हजार ८०० सहकारीलाई घटाएर ७०० मा ल्याउने प्रक्रिया शुरु गरिएको बताए ।

कार्यक्रममा काठमाडौँ उपत्यकाका विभिन्न सहकारीबाट आएका प्रतिनिधिले सहकारी एकीकरण गर्ने विषयमा आफूहरुलाई जानकारी नभएकाले सर्वप्रथम त्यसबारे जानकारी गराउन अनुरोध गरेका थिए । एकीकरण भएपछिको संस्थाको भविष्यसहित कार्ययोजना आफूहरुलाई थाहा हुनुपर्ने कार्यक्रमका सहभागी सहकारी सञ्चालकले बताएका थिए । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घका अध्यक्ष दिपक पनेरुले सहकारी एकीकरण गर्न अत्यन्तै आवश्यक भएको बताए । हाल देशभर ३४ हजार ५१२ सहकारी संस्था रहेको तथ्याङ्क छ ।