उर्जा

३५ वर्षमा नयाँ उपकरण जडान गरेपछि अन्धकार बनेको खलङ्गा उज्यालियो

सिञ्जा । बिजुली नहुँदा लामो समयसम्म अन्धकार बनेको जुम्ला सदरमुकाम खलङ्गा उज्यालिएको छ । आयोजना शुरु भएको ३५ वर्षमा नयाँ उपकरण जडान गरेपछि अहिले खलङ्गामा नियमित विद्युत् आपूर्ति भएको छ ।

भारतीय राजदूतावासको सहयोगमा रु दुई करोड ६३ लाख ७७ हजार, साना जलविद्युत् उपभोक्ता समितिको रु ४२ लाख २२ हजार तथा जिल्ला समन्वय समितिको प्राविधिक सहयोगमा नयाँ उपकरण फेरिएको हो । विसं २०४० माघ २० गते तत्कालीन यातायात तथा जलस्रोतमन्त्री हरिचन्द्र महतको पहलमा तत्कालीन राजा वीरेन्द्रले साना जलविद्युत् आयोजनाको उद्घाटन गरेका हुन् । दुई सय २० किलोवाट क्षमताको सो आयोजनाको क्षमतामा विस्तारै ह्रास हुँदै गएको थियो ।

उपभोक्ताको सङ्ख्या बढ्दै गएपछि सदरमुकाममा दैनिक बिजुली आपूर्तिमा समस्या भएको थियो । भारतीय दूतावासको सहयोगमा ११० केभीको उपकरण जडान गरिएको हो । अहिले १३० किलोवाट बिजुली उत्पादन भइरहेको छ । जिल्लाकै घुगुत्तीस्थित विद्युत् गहृमा चाँडै अर्को ११० केभी क्षमताको उपकरण जडान गरिने भएको छ । सो उपकरण जडान गरिएमा २६० किलोवाट बिजुली उत्पादन हुने अनुमान गरिएको छ । चन्दननाथ नगरपालिकाको सबै स्थानमा बिजुली बाल्न सकिने साना जलविद्युत् उपभोक्ता समितिका अध्यक्ष विष्णुबहादुर बुढ्थापाले बताए । उपकरण जडान गर्न भारतबाट सात जनाको प्राविधिक टोली आएको छ ।