लुम्बिनी

गाउँपालिकाले कार्यालयभित्र स्तनपान कक्ष निर्माण

रुकुम । सिस्ने गाउँपालिकामा स्तनपान कक्ष निर्माण गरिएको छ । महिला तथा बालबालिकाको पोषण स्थितिमा सुधार ल्याउन गाउँपालिकाले कार्यालयभित्र स्तनपान कक्ष निर्माण गरेको हो ।

कर्मचारी सुत्केरी भएमा तथा कामको सिलसिलामा गाउँपालिका सम्म पुग्ने सुत्केरीले बच्चालाई सहजरुपमा स्तनपान गराउन सकून् भन्ने उद्देश्यले स्तनपान कक्ष र पोषण केन्द्रको स्थापना गरिएको हो । गर्भवती, सुत्केरी र दुई वर्षमुनिका बालबालिकालाई केन्द्रित गरी स्तनपान कक्ष र पोषण केन्द्रको स्थापना गरिएको हो ।

गाउँपालिका कार्यालयको एउटा कोठामा स्तनपान कक्ष र पोषण केन्द्र स्थापना गरिएको गाउँपालिकाका अध्यक्ष कुमारी बरालले बताईन् । पोषण केन्द्रमा गेडागुडी र फलफूल राख्ने गरिएको छ । करीब रु एक लाखको लागतमा स्तनपान कक्ष र पोषण केन्द्र स्थापना गरिएको हो । गाउँपालिकाले विस्तारै सबै सरकारी कार्यालयमा स्तनपान कक्ष निर्माण गर्ने योजना बनाएको छ ।

कज्वे निर्माण

सोलबाङ–बालुवा– रुकुमकोट सडकखण्ड अन्तर्गतको सिस्ने गाउँपालिका–७ स्थित नाथीगाँड खोलामा कज्वे निर्माण गरिएको छ ।

गाउँपालिकाको ७ र ८ नं वडालाई सदरमुकाम रुकुमकोटसँग जोड्ने उक्त सडकखण्डमा कज्वे निर्माण भएपछि यात्रा सहज भएको छ । गाउँपालिकाको रु २० लाख तथा रु चार लाख वरावरको जनश्रमदाबाट कज्वे निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष कर्ण केसीले बताए ।

वर्षात्को समयमा खोलामा बाढी आउँदा गाडी वारपार गर्न समस्या हुने गरेको थियो । कज्वे नबन्दासम्म वर्षाको समयमा गाउँपालिकाका ७ र ८ नं वडा सदरमुकाम रुकुमकोट सँग जोडिन सकेका थिएनन् । हिउँदको समयमा खोला सुकेर सानो हुँदा मुस्किलले यातायातका साधन खोला वारपार गर्थे । वर्षाको समयमा उक्त सडकखण्डमा यातायात सेवा ठप्प हुने गरेको थियो ।

खाद्यान्न ढुवानी गर्न मुश्किल भएको थियो । कज्वे निर्माणपछि यातायातका साधन पारपार गर्न सजिलो भएको सिस्ने गाउँपालिका–७ नाथीगाडकी मीना परियारले बताइन् । “तीन महीना यातायातका साधन ठप्प हुन्थे”, उनले भने । कज्वे निर्माण पछि नाथीगाड, रुकुमकोट हुँदै भूमे र पुथा उत्तरगङ्गा गाउँपालिकाको विभिन्न ठाउँमा पुग्न सहज भएको छ ।