सुदूरपश्चिम

विभिन्न विद्यालयमा ‘छात्रवृत्ति कोष’ स्थापना

बझाङ । जिल्लाको छबिसपाथीभेरा गाउँपालिका–४ ब्यासी तामाखानी घर भई हाल अमेरिकामा बस्दै आएका डा तुलसीराम जोशीको सहयोगमा गरीब तथा जेहेन्दार विद्यार्थीको शैक्षिक सुधारका लागि यहाँका विभिन्न विद्यालयमा ‘छात्रवृत्ति कोष’ स्थापना गरिइएको छ ।

गरीब परिवारका जेहेन्दार र लगनशील विद्यार्थीलाई पढाइ खर्चमा सहयोग पुगोस् भन्ने उद्देश्यले विभिन्न विद्यालयमा स्थापित ‘छात्रवृत्ति कोष’ का लागि उनले सहयोग गगरेका हुन् ।

जोशीले बझाङका तीन र कैलाली धनगढीका दुई गरी पाँच विद्यालयमा करीब रु एक करोड सहयोग गरेको छ । आफूले प्रारम्भिक शिक्षा पढेको शान्ति मावि चौघानपाटमा उनले आफ्ना बुबा भानुभक्त जोशीको नाममा रु १२ लाख १५ हजारको छात्रवृत्ति कोषका लागि सहयोग गरेका छन् । यसका साथै आफूले माध्यमिक शिक्षा हासिल गरेको सत्यवादी मावि भोपुरमा आफ्ना जेठाबुबा देवीभक्त जोशीको नाममा छात्रवृत्ति कोष स्थापना गरेर रु १२ लाख १५ हजार सहयोग गरेका छन् ।

साथै आफ्नो पुख्यौली गाउँ नजिकैका बान्नीचौर मावि पाटागाउँमा आफ्नी आमा महालक्ष्मीदेवी जोशीको नाममा रु १२ लाख १५ हजार सहयोग गरेको छ । बाल्यकाल बझाङमा बिताएर जिल्लामा पहिलोपटक २०१३ सालमा एसएलसी दिने ब्याचका जोशी अमेरिकमा प्राध्यापक भएर जन्मथलो गाउँतिर आएपछि बझाङमा उनको बाजागाजासहित गाउँलेले भव्य स्वागत गरेका थिए ।

विद्यालयमा गरिएको स्वागत कार्यक्रममा बोल्दै डा जोशीले अनुशासित, लगनशील र मेहनत गरेमा आफ्नो लक्ष्यमा पुग्ने सकिने भएकाले मेहनत गरी पढ्न विद्यार्थीलाई सुझाव दिए ।