राजनीति

विप्लवले कम्यूनिष्टको नाममा यूवालाई लुट्न सिकायो- प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसा र बिस्फोटबाट आतंक मच्चाएर लुटपाट गर्ने समुहसँग सरकारले वार्ता नगर्ने बताएका छन् । नेपाल बैदेशिक रोजगार व्यावसायी संघको टोलीसँगको भेटघाटमा उनले सो कुरा बताएका छन् । फागुन २४ गते संघका अध्यक्ष रोहन गुरुङको घरमा बम हानेको बिषयमा प्रधानमन्त्रीको ध्यानआकर्षण गर्न आएको टोलीसँग आज बालुवाटारमा कुरा गर्दै उनले बम पड्काउने र पैसा असुल्नसँग वार्ता गर्नुको औचित्य नभएको स्पष्ट पारेका छन् ।

“कतिपयले वार्ता गर्नुप¥यो भन्छन् तर के का लागिवार्ता गर्ने ? उनीहरुले गरेका क्रियाकलाप राजनीतिक हुन् ? बम पड्काउने,आतंकित पार्ने ,पैसा असुल्ने कुरा राजनीतिक हुन सक्दैनन्”उनले भने “जहाँजहाँ धेरै पैसा छ भन्ने लाग्छ त्यही बम हान्नेहरुसँग के को वार्ता ? उनीहरुलाई कानुन बमोजिम नियन्त्रणमा लिइन्छ ।”

उनले एउटा गिरोहले कम्यूनिष्टका नाममा घिनलाग्दो काम गरि रहेको बताएका छन् । कम्यूनिष्टले त यूवालाई कर्मठ र कर्मशिल हुन सिकाउनु पर्ने उनको भनाइ छ । “कम्यूनिष्टले त यूवाहरुलाई कर्मशिल हुन,सही बाटोमा हिडाउन र उत्पादनमा लाग्न सिकाउनु पर्ने हो”उनले भने “यहाँ त कम्यूनिष्टको नाममा यूवालाई लुट्न सिकाइ रहेका छन् । यो हुन सक्ने कुरा होइन ।”उनले अध्यक्ष गुरुङको घरमा भएको बिस्फोट प्रति दुःख व्यक्त गरेका छन्। यस घटनाको बारेमा सरकारले छानविन गर्ने उनले प्रतिवद्धता व्यक्त गरेका छन् ।