प्रदेश 1

पहिलोपटक नगरपालिकामा बृहत् सामाजिक सुरक्षा कार्यक्रमलाई अगाडि बढाए

गाईघाट । उदयपुर जिल्लाको बेलका नगरपालिकाले पहिलोपटक नगरपालिकामा बृहत् सामाजिक सुरक्षा कार्यक्रमलाई अगाडि बढाएको छ । नगरपालिकाभित्रका जनतालाई प्रत्यक्ष रुपमा स्थानीय सरकारको सेवाको अनुभूति गराउन र लोककल्याणकारी सेवा प्रदान हुने गरी विभिन्न सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरेको हो ।

कार्यक्रममा नगरभित्रको जुनसुकै उमेरका नागरिक भएपनि कुनै बिरामी भएर उपचार गर्नु परेमा सामान्य बिरामीको उपचारको लागि पनि नगरपालिकाले रु १० हजारदेखि १५ हजारसम्म उपचार खर्च सम्बन्धित व्यक्तिलाई प्रदान गर्ने कार्य शुरु गरेको बेलकाका प्रमुख खगेन्द्र राईले बताए । नगरको वडाको सिफारिस र अस्पतालको डाक्टरको उपचारको प्रमाणपत्र हुनुपर्ने प्रावधान रहेको छ ।

नगरभित्रका कोही पनि नागरिक घरको आर्थिक अवस्था ज्यादै नाजुक रहेको र जटिल बिरामी भए यस्ता बिरामीको लागि पनि वडाको सिफारिस र अस्पतालको डाक्टरले प्रमाणित गरेपछि रु ५० हजारसम्म नगरपालिकाले उपचारका लागि आर्थिक सहयोग व्यवस्थापन कार्यको शुरु गरेको चौदण्डीका प्रमुख राईले बताए ।

कुनै दैवी प्रकोपमा परेका र घरजग्गा गुमाएका नागरिकको लागि नगरपालिकाले रु तीन लाखसम्म आर्थिक सहयोग गर्ने व्यवस्थाको समेत शुरु गरेको नगरपालिका बताउँछ । यता नगरभित्रको जुनसुकै जातजातिको लागि पनि ६० वर्षभन्दा माथिका वृद्धवृद्धा नागरिकको मृत्यु भएमा उनीहरुको काजकिरिया गर्न र संस्कार गर्नका लागि नगरपालिकाले रु १० हजारदेखि १५ हजारसम्म आर्थिक सेवा उपलब्ध गराउन शुरु गरेको पनि बेलका नगरपालिकाले बताएको छ ।

यस्तै खोप केन्द्रमा खोप लिन आउने नागरिक बालबालिकाको लागि रु १०० देखि ५०० सम्म खाजा भत्ता उपलब्ध गराउने समेत नगरपालिकाले अभियान शुरु गरेको छ । नगरपालिकाभित्रका अल्पसङ्ख्यक, पिछडा वर्गका वा सीमान्तकृत जातजातिका गरीब तथा विपन्नले आफ्ना संस्कृति, चाडपर्व मनाउँदा नगरपालिकाले पाँच हजारसम्म आर्थिक सहयोग उपलब्ध गराउने कार्यक्रमसमेत सञ्चालन भएको नगरपालिकाका प्रतिनिधि बताउँछन् ।

नगरपालिकाभित्र कोही दीर्घरोगी भए र सरकारी अस्पतालले दीर्घरोगी हो भनेर प्रमाणित गरे यस्ता नागरिकलाई प्रत्यक महीनाको औषधि सेवनको लागि रु पाँच हजारदेखि रु १० हजारसम्म आर्थिक सहयोग गर्ने कार्यक्रम समेत सञ्चालन भएको बेलका नगरपालिकाले बताएको छ ।

यस विषयमा चौदण्डी नगरपालिकाका प्रमुख खगेन्द्रकुमार राईको धारणा यस्तो छ,“देशमा राजनीतिक परिवर्तन भएर स्थानीय तहको संरचना निर्माण भएपछि जनतालाई पनि नयाँ लोककल्याणकारी सेवाको अनुभूित दिलाउन र सेवा प्र्रदान गरेर स्थानीय सरकार जनताप्रति अझ बढी उतरदायी बन्नका लागि यस्तो कार्यक्रम शुरु गरेको हौँ” प्रमुख राईले भने ।

सङ्घीय सरकारको अवधारणा नै जनताप्रतिको लोकल्याणकारी राज्यको निर्माण र लोककल्याणकारी सेवा व्यवस्थापन रहेको कारण आफूहरुले पनि नगरपालिकामा यो अभियान शुरु गरेर जनताका लागि लोेककल्याणकारी कार्यको शुरु गरेको धारणासमेत प्रमुख राईले व्यक्त गरे ।

नगरको भौतिक विकास निर्माण मात्र स्थानीय सरकारको काम र कर्तव्य नभएर प्रत्यक जनताको लोककल्याणकारी सेवा प्रदान गर्नुसमेत आफूहरुको कर्तव्य भएका कारण यो अभियान शुरु गरेको प्रमुख राई बताए ।

यसपटक चौदण्डी नगरपालिकाले नगरमा सामाजिक सुरक्षा कार्यक्रमका लागि रु ५० लाख बजेट व्यवस्थापन गरेर यो कार्यक्रम सञ्चालन गरेको हो । आगामी आर्थिक वर्षको कार्यक्रमा अझ बजेट विस्तार गर्दै अहिलेको भन्दा दोब्बर बजेट व्यवस्थापन गर्ने लक्ष्य रहेको नगरपालिकाले जनाएको छ ।

उदयपुर जिल्लामा यस्ता सामाजिक लोककल्याणकारी कार्यअन्तर्गत बेलका नगरपालिकाको पनि सात महीना अघिदेखि नै नगरपालिकाभित्र विपन्न र गरीब भई खान नपुग्ने र आम्दानी नहुने परिवारको पहिचान गरी नगरको वडा समितिको सिफारिसमा प्रत्यक नागरिकलाई महीनाको १५ किलो चामल, तेल, दाल, आलु, चिनी र चिया तथा साबुनको समेत वितरणको व्यवस्था कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

यस्तै जिल्लाको त्रियुगा नगरपालिकाले पनि केही महीना अघिदेखि नगरपालिकाभित्रका कोही पनि नागरिकले उपचारको लागि अस्पताल वा जिल्ला बाहिरका अस्पतालमा उपचार तथा प्रसूति सेवा लिन जान परेमा नगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्थापन कार्य शुरु गरेर लोकल्याणकारी सामाजिक कार्यको अभियान अगाडि बढाएको छ ।

अहिले चौदण्डी नगरपालिकाले भने सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत वृहत लोककल्याणकारी सेवा सञ्चालनको अभियान शुरु गरेर जिल्लाकै एक उदाहरणीय नगरपालिका बन्न पुगेको बेलका नगरपालिकाका समाजसेवी तथा पाका नागरिक भोजराज खतिवडा बताए ।