बाग्मती

न्यायिक समितिले मेलमिलापकर्तालाई सक्रिय बनाउन थाले

नुवाकोट । मेलमिलापकर्ताका कारण स्थानीय तहका न्यायिक समितिलाई न्याय सम्पादन गर्न सहज भएको छ ।

स्थानीयस्तरका विवाद छिटोछरितो समाधान गर्नका लागि न्यायिक समितिले मेलमिलापकर्तालाई सक्रिय बनाउन थालेका छन् । मेलमिलापकर्ताले वडा वडामा नै मेलमिलाप गराउने भएकाले न्यायिक समितिसम्म थोरैमात्र विवाद आउने भएकाले सहज भएको सूर्यगढी गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक मञ्जु बुढाथोकीले बताईन् । “वडा वडामा नै मेलमिलाप केन्द्र स्थापना भएका छन् । वडा कार्यालयसँगै स्थापना भएका मेलमिलाप केन्द्रमा नै धेरै विवाद समाधान हुन्छ । त्यहाँ नभएका मात्र गाउँपालिकाको न्यायिक समितिका आउँछ”, उनले भनिन्, “यसले गर्दा सहज भएको छ । यही सहजताका लागि नै हामीले मेलमिलापकर्तालाई न्यायिक समितिअन्तर्गत नै राखेर परिचयपत्र प्रदान गरिरहेका छौँ ।”

विनाशकारी भूकम्पछि जिल्लामा भित्रिएका मेलमिलाप केन्द्रले जल, जङ्गल र जमीनसँग सम्बन्धित तथा अन्य सामाजिक विवाद मिलाउँदै आएका छन् । मेलमिलाप केन्द्र र न्यायिक समितिले गर्ने काम एउटै भएकाले गाउँपालिकाभित्र रहेका मेलमिलापकर्तालाई साथमा लिएर काम गर्न थालिएको ककनी गाउँपालिकाकी न्यायिक समिति संयोजक सीता लामा खतिवडाले बताईन्।

अहिले जिल्लाका ८८ वडामध्ये ८६ वडामा मेलमिलाप केन्द्र स्थापना भइसकेको प्राकृतिक स्रोत तथा द्वन्द्व रुपान्तरण केन्द्र नेपालका जिल्ला संयोजक सीताराम पौडेलले बताए । पौडेलका अनुसार अहिले मेलमिलापकर्तालाई संस्थाले तालीम दिने र काम न्यायिक समितिअन्तर्गत रहेर गर्ने व्यवस्था मिलाइएको छ । स्थानीय न्यायिक समितिले ३०० मेलमिलापकर्तालाई आफ्नो समितिअन्तर्गतको मेलमिलापकर्ता भनेर परिचयपत्र नै वितरण गरिसकेका छन् ।

विवाद समाधान गर्नेबारे मेलमिलापकर्ताले आठ दिनको आधारभूत र चार दिनको उच्चस्तरीय तालीम लिएका हुन्छन् । जसका कारण उनीहरूमा विवाद समाधान गर्ने सीप रहेको न्यायिक समितिले जनाएको छ । मेलमिलापकर्तालाई सम्बन्धित वडासँग सहकार्य गरेर गाउँको विवाद गाउँमै मिलाउन आग्रह गरिएको ककनी गाउँपालिकाकी उपाध्यक्ष सीता खतिवडाले बताईन ।

सहकार्यका लागि अहिले न्यायिक समिति, वडाध्यक्ष, मेलमिलापकर्ता र सरोकारवालाबीच निरन्तर अन्तक्र्रिया भइरहेका छन् ।

मेलमिलाप केन्द्र र न्यायिक समितिका पदाधिकारीलाई तालीम दिएर दक्ष बनाई परिचालन गरिएको विदुर नगरपालिका–९ का वडाध्यक्ष शनि चित्रकारले बताए ।