लुम्बिनी

उपमहानगरपालिकामा कतिपय घरधुरी अझैँ पनि शौचालयविहीन

बाँके । बाँके खुला दिसामुक्त जिल्ला घोषणा भइसकेको भएपनि यहाँका धेरै घरपरिवार भने अहिले पनि शौचालयको पहुँचमा छैनन् । हचुवा र हतारमा बाँकेलाई खुला दिसामुक्त गरिएकै कारण अहिले अधिकांश स्थानीय तहमात्रै होइन, सदरमुकाम नेपालगञ्ज र शहरोन्मुख कोहलपुरमा समेत आवश्यकताअनुसारका शौचालयको अभाव छ ।

कतिपय घरधुरी शौचालयविहीन छन् भने बनाएका कतिपय घरधुरीका शौचालय शौचका लागि प्रयोगमा आउन सकेका छैनन् । नेपालगञ्ज उपमहानगरपालिका–८ का अधिकांश घर अहिले पनि शौचालयको पहुँचमा छैनन् । अन्य वडामा पनि यो अवस्था रहेको स्थानीयवासी बताउँछन् । घरमा शौचालय बनाएका जिल्लाका अधिकांश नागरिक शौचालय प्रयोगका बारेमा अनभिज्ञ छन् । कतिपयले शौचालयमा पराल, दाउरा र विभिन्न घरायसी सामान राखेका छन् । कतिपय घरधुरीमा त शौचालय सामान राख्ने गोदाम जस्तै भएको छ । सर्वसाधारणमा जीर्ण अवस्थामा रहेका शौचालयको मर्मतसम्भार गरेर प्रयोगमा ल्याउनुपर्छ भन्ने चेतनाको पनि अभाव छ ।

कोहलपुर नगरपालिका–१४ पार्वतीपुरमा घरधुरीमा निर्माण भएका कतिपय शौचालय प्रयोगमा छैनन् । कतिले बनाएकै छैनन् । यस क्षेत्रका कतिपय नागरिकले घरमा भएका शौचालयमा गाईभैँसीलाई आवश्यक पर्ने पराल, दाउरालगायतका सामग्री राख्ने गरेको पार्वतपुरकी बेलकुमारी उपाध्यायले बताए । अनभिज्ञताको कमीले बाँकेका ग्रामीण क्षेत्रका नागरिक शौच गर्न बाहिरै खुला चौर तथा खेतमा जाने क्रम रोकिएको छैन । यसले वातावरणमा समेत प्रदूषण फैलाएको छ । चेतनाकै अभावले गर्दा घरमा भएका शौचालयमा घरायसी प्रयोजनका सामान राख्ने गर्दै आएको कारकादोकी स्मृति डिसीले बताए । यो समस्या नेपालगञ्ज उपमहानगरपालिकाका भित्री बस्तीका साथै कोहलपुर क्षेत्रका विभिन्न गाउँमा रहेको छ ।

कतिपय नागरिकले जसोतसो शौचालय बनाए पनि आर्थिक अभावले ती शौचालयमा ढोका र छानोसमेत हाल्न नसकेको शम्शेरगञ्जकी भागमती बर्माले बताए । ढोका र छानो नहुँदा बाँकेमा धेरै घरधुरीमा बनेका शौचालय प्रयोगविहीन भइरहेका छन् । ढोकै नभएको शौचालय प्रयोग गर्नु असुरक्षित महसुस हुने गरेको स्थानीय महिला बताउँछन् । कतिपयको शौचालय प्रयोग नहुँदै जीर्ण भइसकेका छन् । आर्थिक अभावले जीर्ण शौचालयको मर्मत गर्न नसकिएको पूजा बर्माले बताए । शम्शेरगञ्जका जागेश्वरलाल यादवले अधिकांशले शौचालय बनाए पनि प्रयोग र मर्मतको समस्या रहेको बताए। उनले भने, “शौचालय मर्मत गर्न पैसा छैन, पहिले जस्तै खुलारुपमै दिसापिसाब गर्दै आएका छौँ ।”

बाँकेलाई खुला दिसामुक्त घोषणा गर्ने होडबाजीमा सरकारी तथा गैरसरकारी संस्थाले शौचालय बनाइदिए । व्यक्तिको आफ्नो लगानी र मिहेनत नभएका कारण पनि अरुले बनाइदिएको शौचालयको प्रयोगतर्फ चासो नभएको हुनसक्ने जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तवको भनाइ छ । बाँकेलाई खुला दिसामुक्त गरेसँगै बनाइएका शौचालय प्रयोगमा छन् कि छैनन्, यसको सदुपयोग भयो÷भएन अहिलेसम्म कसैले पनि अनुगमन गर्न र बुझ्न नसकेको स्थानीयवासी बताउँछन् । यहाँका सरकारी र अन्य कार्यालय, विद्यालयहरुमा समेत व्यवस्थित शौचालयको अभाव रहेको छ ।

जिसस संयोजक श्रीवास्तवले नागरिकमा शौचालय प्रयोग गर्नुपर्छ भन्ने सचेतना दिन जरुरी रहेको बताए । उनले स्थानीय तह र सरसफाइसँग सम्बन्धित सरकारी तथा गैरसरकारी निकायले ध्यान दिनुपर्ने धारणा राख्छन् । सरोकारवाला सरकारी तथा गैरसरकारी निकायले अहिलेसम्म शौचालयको अनुगमन गर्न चासो नदेखाउँदा जिल्लालाई खुला दिसामुक्त घोषणा केबल औपचारिकतामा सीमित बन्न पुगेको छ ।