लुम्बिनी

सामाजिक सुरक्षा भत्ता घरघरमै

खस्यौली । बुटवल उपमहानगरपालिकाले अशक्त र ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई घरमै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको छ । बुटवलको वडा नं १ ले वडामा रहेका ज्येष्ठ नागरिकलाई घरघरमै पुगेर भत्ता हस्तान्तरण गरेको छ । वडाध्यक्ष महेन्द्रप्रसाद लिगलले त्यहाँको नारायणथान टोलस्थित १०४ वर्षीया सेतीलक्ष्मी श्रेष्ठलाई चार महीनाको रु आठ हजार बराबरको सुरक्षा भत्ता हस्तान्तरण गर्नुभयो ।

घरमै सामाजिक सुरक्षा भत्ता पाउँदा वडाका ज्येष्ठ नागरिक निकै खुशी भएका थिए । “वडाध्यक्षले घरमै आएर सामाजिक सुरक्षा भत्ता दिनुभयो, मलाई निकै खुशी लाग्यो”, वडा नं १ का ज्येष्ठ नागरिक जुलेखा खातुनले भने। खातुनजस्तै चन्द्रमान शाक्य, पूर्णमान श्रेष्ठ, लोकबहादुर रणपाल, श्रीराम अग्रहरिसहित २७ लाई उनीहरुकै घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता उपलब्ध गराइएको वडाध्यक्ष लिगलले जानकारी दिए ।

त्यस अवसरमा जनप्रतिनिधि, वडाध्यक्ष लिगलसहित मदनकुमार श्रेष्ठ, सतिष कषौधन, विष्णु नेपाली, वडासचिव गोकुल ज्ञवाली र सामाजिक परिचालिका विमला राजभण्डारीलगायतले ज्येष्ठ नागरिकको घरघरमै पुगेर भत्ता हस्तान्तरण गरेका थिए । यो वडामा हाल २३८ ले सामाजिक सुरक्षा भत्ता लिँदै आएका छन् । लट्ठी टेकेर सामाजिक सुरक्षा भत्ता बुझ्न जानुपर्ने बाध्यतालाई जनप्रतिनिधि आएपछि सजिलो बनाइदिएको ज्येष्ठ नागरिक शीतल गुभाजुले भन्नुभयो, “हामीलाई घरमै सरकार आएजस्तो भयो ।” बुटवल उपमहानगरपालिकाले नगरका सबै १९ वटै वडामा सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।