बाग्मती

बाँदरको आतङ्कबाट स्थानीय बासिन्दा समस्यामा

मकवानपुर।  मकवानपुरको गढी गाउँपालिकामा बाँदरको आतङ्कबाट स्थानीय बासिन्दा समस्यामा परेका छन् । जङ्गलबाट आएका बाँदरले खेत र घरमा भएका खाद्यान्न कृषिबाली खाइदिने र लत्ताकपडा भाँडाकुँडा नष्ट पारिदिनाले स्थानीयवासी उठीबासको अवस्थामा पुगेको गुनासो छ । बाँदर आतङ्कले सुकौरा र बुढीचौरका स्थानीयवासी बेँसीतिर झरेको बताइएको छ ।

विगतदेखि बाँदरको आतङ्क झेलिरहेका स्थानीयवासी थप समस्यामा परेपछि उठीबासको अवस्थामा पुगेको सुकौराका रामसिंह घलानले बताए । बाँदरको आतङ्क रोक्न रात्रि र दिनमा खेत र घरको सुरक्षाका लागि जागा बस्नुपरेको उनको भनाइ छ ।

गढी–७ का थीरमान बलले खेतमा मात्रै नभई घरभित्र पसेर खाद्यान्न, लत्ताकपडासमेत बाँदरको हुलले नष्ट गर्ने गरेको गुनासो गर्नुभयो । जङ्गलमा खानेकुरा अभाव भएपछि बाँदर गाउँघरमा पसेको बाँदरसम्बन्धी अध्ययन गर्दै आउनुभएका वनविज्ञान अध्ययन संस्थानका प्राध्यापक वासुदेव पोखरेलले बताए । बाँदर आतङ्क रोक्न छिट्टै पहल हुने गाउँपालिका अध्यक्ष विदुर हुमागार्इंले बताए ।